काठमाडौं – सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएकाे हाे ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सागर आचार्यका अनुसार प्रकाश शेर्पा फिनासा भन्‍ने फुर्वा शेर्पासमेत ५०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ । सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो । यसैगरी आङनिमा शेर्पासमेतका १२ जनाको समेत विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयको विज्ञप्ति  हेर्नुस्