मकवानपुर – हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को बजेट संसोधन गरेको छ । उपमहानगरपालिकाको आज भएको १२औं नगरसभाले चालु आर्थिक वर्ष २०७९/८० को बजेट संसोधन गरेर ३ अर्ब ५ करोड पु¥याएकोे हो ।
१२ औं नगरसभाले गत असारमा सम्पन्न ११ औं नगर परिषद्बाट चालु आर्थिक वर्ष २०७९/८० को लागि पारित गरेको २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बजेट संसोधन गर्दै ३ अर्ब ५ करोड रुपैयाँ बराबरको बजेट पारित गरेको हो । नगरपरिषदले अघिल्लो आर्थिक वर्षको ३७ करोड रुपैयाँ भन्दा बढी जिम्मेवारी सरेका योजना तथा कार्यक्रमको भुक्तानी गर्नुपर्ने भएपछि संशोधित बजेट बढेर आएको बताईएको छ ।
१२ औं नगर सभा बैठकमा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नुका साथै चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने कार्य र लक्ष्यको विवरण प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म संघीय सरकारबाट समानीकरण तथा सशर्त अनुदानतर्फ ५५ करोड ४६ लाख रुपैयाँ, प्रदेश सरकार समानीकरण अनुदानतर्फ ३७ लाख ५० हजार रुपैयाँ, राजश्व बाँडफाँटतर्फ ६ करोड ७ लाख ६८ हजार रुपैयाँ र आन्तरिक स्रोतबाट ८७ करोड ८७ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको उपप्रमुख बानियाँले जानकारी गराउनुभयो । उपमहानगरले पूर्वाधार क्षेत्रतर्फ २ सय ५८ वटा योजनाहरु मध्ये ४८ वटा सम्पन्न गरेको उल्लेख गरिएको छ ।
१२औं नगर सभाले हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य सेवा विद्येयक–२०७९, हेटौंडा उपमहानगरपालिका प्रज्ञा प्रतिष्ठान बिद्ययक–२०७९ सर्बसम्मत पारित गरेको छ । भने केहि ऐनलाई परिमार्जन गरी पारित गरेको छ । यस्तै नगरसभाले हेटौंडा उपमहानगरपालिका बाल अधिकार संरक्षण नीति २०७९ पारित गरेको छ । साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ मा भएको व्यवस्था अनुसार हेटौंडा–९ का वडा अध्यक्ष सुकराम केशीको संयोजकत्वमा विद्यायन समिति र हेटौंडा–१९ का अध्यक्ष नरनाथ सुवेदीको संयोजकत्वमा लेखा समिति गठन गरेको छ ।
१२औं नगरसभामा योजना कार्यान्वयनका आधारमा हेटौंडा–१४ लाई प्रथम र हेटौंडा–१५ लाई द्वितीय घोषित गर्दै क्रमशः २० लाख र १५ लाख रुपैयाँ बराबरका योजना अनुदानस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको नगरसभा भएको हो ।