मकवानपुर – भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान नेपालले बिजुली माया वनः संगीत राष्ट्रिय पुरस्कार–२०७९ वरिष्ठ गायक, सङ्गीतकार, लेखक तथा निर्देशक डा. किरण प्रधानलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानले एक लाख राशीको विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट प्रधानलाई सम्मान गर्न लागेको हो ।
२०६४ सालमा हेटौंडाका कुशल व्यवसायी, सङ्गीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी ममतामयी आमाको नामबाट एक लाख राशीको उक्त पुरस्कार स्थापना गर्नु भएको हो । उक्त पुरस्कार यस वर्ष भीम विरागको स्मृति दिवसको अवसरमा आगामी माघ १५ गते हेटौंडामा सांगितिक कार्यक्रमको आयोजना गरी प्रधानलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष ह्याग्रीव आचार्यले जानकारी दिनुभयो ।
२०१० सालमा काठमाडौंमा जन्मिनुभएका प्रधानको रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो, छातीमा मेरो यो छोटो भोटो, भुल हो तेरो भागी हिँड्नु जीवनदेखि, पत्थरको मुटु बोकेर मान्छे तिमी नबनिदे, अभागी आमा कुन देशमा, के सोचें मैले के भयो अहिले, विपना नभई बाँचिदिने म भित्रका मेरा सपनालगायत विभिन्न गीतहरु चर्चित छन् । साथै उहाँले ७ वटा गीति एल्वम समेत प्रकाशित गरिसक्नु भएको छ ।
विजुलीमाया वनः श्रेष्ठ अन्तरराष्ट्रिय सङ्गीत पुरस्कारबाट हालसम्म अम्बर गुरुङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), प्रकाश श्रेष्ठ (२०६९), दीप श्रेष्ठ (२०७०), न्हुच्छे बहादुर डंगोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की ( २०७४) र दीपक जङ्गम (२०७८) पुरस्कृत भइसक्नु भएको छ ।