मकवानपुर – आठौं संसकरणको हेटौंडा राष्ट्रिय भेट्रान्स (४० वर्ष माथीका) कप ८ ए साईड फुटबल प्रतियोगिता आगामी पुस १९ बाट हुने भएको छ । आयोजक हेटौंडा भेट्रान्स क्लबले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको जानकारी गराएको हो ।
हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष रमेश कुमार उप्रतीले पुस १९ गतेदेखि २३ गतेसम्म हेटौंडा–५, पिप्लेस्थित क्याम्पाचौरमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो । प्रतियोगितामा मकवानपुर सहित देशभरका २० वटा भेट्रान्स टिमको सहभागीता रहने उहाँले बताउनुभयो । प्रतियोगितामा मकवानपुर सहित चितवन, वीरगञ्ज, बारा, नवलपरासी, पोखरा, काठमाडौं र विराटनगरका २० टोली सहभागी हुने उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागिताको लागि सम्भव भएसम्म भारत र बंगलादेशबाट पनि टिम ल्याउने तयारी गरिरहेको उहाँले बताउनुभयो । प्रतियोगितामा पूर्वराष्ट्रिय खेलाडीहरुको समेत सहभागी हुने आयोजकले अपेक्षा गरेको छ ।
प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, रोटरी क्लब, जेसीज, लायन्स क्लब तथा विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त हुने बताइएको छ । प्रतियोगितामा १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, दोस्रो हुने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । खेलमा म्यान अफ दी सिरिजलाई १५ हजार, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने बताईएको छ ।











