मकवानपुर । मकवानपुर जिल्लाका स्थानीय तहका वडाध्यक्षहरुका लागि स्थानीय सरकार संचालन र सेवा प्रवाह सम्बन्धी २ दिने अभिमुखीकरण बुधबारबाट हेटौंडामा सुरु भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा प्रदेश सुशासन केन्द्रको प्रायोजनामा अभिमुखिकरण भएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा सुरु भएको अभिमुखीकरणको जिसस मकवानपुरका प्रमुख ललित बहादुर घलानले उद्घाटन गर्नुभयो । दुई चरणमा संचालिन हुने अभिमुखिकरणमा पहिलो चरणमा जिल्लाका ६ वटा स्थानीय तहका वडाध्यक्षहरुको सहभागिता रहेको छ । अभिमुखीकरणमा बागमती गाउँपालिका, बकैया गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, राक्सिराङ गाउँपालिका र भिमफेदी गाउँपालिका वडाध्यक्षहरु सहभागी छन् । दोस्रो चरणमा मंसिर २३ र २४ गते हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाका वडाध्यक्षहरुलाई अभिमुखिकरण गरिने निमित्त जिल्ला समन्वय अधिकारी सुनिता कुमारी गजुरेलले बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सह–सचिव शिवराम गेलाल र विनोद भट्टराई, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई र जिल्ला समन्व्य समिति मकवानपुरका नायब सुब्बा उपेन्द्रनाथ पोखरेलले सहजीकरण गर्नु भएको थियो । पहिलो दिन गेलालले स्थानीय तह र वडा समिति तथा वडाध्यक्ष काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउनुभएको छ । यस्तै विनोद भट्टराईले स्थानीय तहको योजना तर्जुमा प्रकृया र कार्यान्वयनमा वडा समितिको भुमिका, उपभोक्ता समिति गठन तथा परिचारलन र शिवराज चौलागाईले वडाबाट गरिने सिफारिस रउपेन्द्र पोखरेलले सर्जमिन मुचुल्काको अवधारणा र सर्जमिन मुकुल्का तयार गर्दा ध्यान दिनुपर्ने विषयहरु सम्बन्धी जानकारी गराउनुभएको छ । जिसस मकवानपुरका प्रमुख ललित घलानको सभाध्यक्षामा भएको अभिमुखीकरणमा जिसस मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेल, सदस्यहरु सुनिता परियारलगायतको आतिथ्य रहेको थियो ।