हेटौंडाः नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरले विद्यालय सुचारु गर्ने विषयमा स्थानीय प्रशासनलाई ध्यानाकर्षणपत्र बुझाएको छ । कोभिड–१९ महामारी भनिए पनि सवै क्षेत्र सुचारु भइरहँदा विद्यालय मात्रै बन्द गर्नुको औचित्य नहुने भन्दै स्वास्थ्य सतर्कता अपनाएर पठनपाठन सुचारु गर्न आवश्यक रहेको उल्लेख गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई सोमबार ध्यानाकर्षणपत्र बुझाएको हो ।
नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरका अध्यक्ष ध्रुवप्रसाद चौलागाईले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाउनुभएको छ । ध्यानाकर्षणपत्र बुझ्नुहुँदै प्रमुख जिल्ला अधिकारी पाण्डेले विद्यालय सुचारु गर्ने विषय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रीय समितिको निर्णयमा निर्भर रहने बताउनुभयो । विद्यालय सुचारु गर्ने विषयमा स्थानीय प्रशासनको मात्रै निर्णय पर्याप्त नहुने उल्लेख गर्नुहुँदै अभिभावक संघको ध्यानाकर्षणलाई केन्द्रीय समितिमा पठाइने बताउनुुभयो ।