ब्राजिलमा हिजो सम्पन्न राष्ट्रपति निर्वाचनमा पूर्व राष्ट्रपति लुइज इनासियो लुला पुनःराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । लुलाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारुलाई झिनो मत अन्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
निर्वाचनमा लुलाले ५० दशमलब ९ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने राष्ट्रपति बोल्सोनारुले ४९ दशमलब १ प्रतिशत मत प्राप्त गर्नुभयो । एक महिनाअघि गरिएको राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि हिजो पुनः निर्वाचन गरिएको थियो ।
राष्ट्रपतिमा निर्वाचित बामपन्थी धारका लुला सन् २००३ देखि सन् २०१० सम्म ब्राजिलको राष्ट्रपति हुनुहुन्थ्यो । चरम दक्षिणपन्थी नेता बोल्सोनारुले कोभिड महामारीको सही तरिकाले व्यवस्थापन गर्न नसकेको र अमेजनको जंगलमा व्यापक वन विनासका लागि अनुमति दिएको आरोप छ । नव निर्वाचित राष्ट्रपतिले आगामी जनवरी १ मा पदभार ग्रहण गर्नेछन् ।










