file photo

प्रतिनिधिसभाको आजको बैठकमा दलका नेताहरूले दलगत रुपमा आ–आफ्नो धारणा राख्नुभएको छ । प्रतिनिधिसभाको यसका कार्यकालको अन्तिम बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सरकारसँगै संसद् पनि परमादेशबाट नै आएको स्मरण गराउँदै त्यही कारणले अहिले सबै सँगै संसद्मा बसेर काम गर्ने अवसर मिलेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गरेको र संघ तथा प्रदेशसभाको निर्वाचन पनि समयमै सम्पन्न गर्ने वातावरण बनिसकेको बताउनुभयो । प्रधानमन्त्री देउवाले गठबन्धन नेतृत्वको सरकारका कारण देशलाई पुनः संविधान बमोजिम मात्र चलाउने पद्धति बसेको उल्लेख गर्नुहुँदै जनताको अधिकार सुनिश्चित गर्न र जनताले सङ्घर्ष गरी ल्याएको संविधानलाई बचाउन राजनीतिक दलबीच सहकार्य गरेर देशलाई पुनः संविधान बमोजिम मात्र चलाउने पद्धति बसेको बताउनुभयो । प्रधानमन्त्री देउवाले अछाम, दार्चुला लगायतका विभिन्न जिल्लामा भएको बाढी पहिरो प्रभावितलाई क्षतिपूर्तिको व्यवस्था गर्ने सरकारको तर्फबाट प्रतिबद्धता जनाउनुभयो ।
यस्तै प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले यो संसद्ले संविधानको कार्यान्वयनका लागि कानून बनाउन भूमिका खेलेको बताउँदै इतिहासमा नमेटिने खालका काम भएको र राष्ट्रिय स्वाधीनताका सम्बन्धमा महत्त्वपूर्ण काम भएको बताउनुभयो । पूर्व प्रधानमन्त्री ओलीले पछिल्लो समयमा संसद् कमजोर भएको र राष्ट्रियताको पक्षमा उभिन नसकेको भन्दै राष्ट्रिय आवश्यकता एकातिर र संसद्को अङ्क गणित अर्कोतिर भएको बताउनुभयो । पूर्व प्रधानमन्त्री ओलीले जनताको जनादेश एकातिर र संसद्को अङ्क गणित अर्कोतिर गएकोले तात्कालिक समयमा ताजा जनादेशमा जान आफ्नो नेतृत्वको सरकार बाध्य भएको बताउनुभयो ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षसम्म जस्तो रूपले संसद् जानुपर्थ्यो त्यस्तो जान नसकेको भन्दै भविष्यमा त्यस्तो नहोस् र संविधानको मर्म भावना र लोकतन्त्र अनुसार सदन सुचारु हुन सकोस् भन्ने आफ्नो चाहाना रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले अल्पायु मै विघटनमा परेको संसद्लाई पाँच वर्षसम्म गठबन्धनको सरकारले निरन्तरता दिन सकेकोमा खुसी व्यक्त गर्नुहुँदै अब मुलुक संघ र प्रदेशको निर्वाचनतर्फ उन्मुख भएकाले जनताको फैसलालाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले यस अघिको सरकारले सदन भित्रबाट अर्को सरकार बन्ने सम्भावना हुँदाहुँदै त्यसलाई विघटन गरी संविधानको भावना विपरीत काम गरेकाले आफूहरूले गठबन्धन गर्नुपरेको स्पष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले अहिलेको बेला अन्य कुरामा चर्चा परिचर्चा गर्नेभन्दा पनि आउँदो निर्वाचनलाई स्वच्छ र धाँधलीरहित बनाउन र सफलतापूर्वक सम्पन्न गर्न दलहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले गठबन्धनले संविधान र संसद्लाई बचाउन सफलता मिलेको बताउनुभयो । नेता खनालले नेपालमा अब लामो समयसम्म गठबन्धनको राजनीतिक अगाडि बढ्ने उल्लेख गर्नुहुँदै प्रतिपक्ष दलले गठबन्धन शब्दप्रति कटाक्ष गर्ने गरे पनि राजतन्त्रवादी राप्रपासँग गठबन्धन गर्न बाध्य भएको बताउनुभयो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने गरी पटक–पटक संसद् विघटन भएको अवस्था बाट पाँच दलीय गठबन्धनले राजनीतिलाई सही दिशा दिन सफल भएको बताउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेपाल सबै जात जाती र भाषा भाषीको साझा फूलबारी भएकाले त्यस अनुसारको व्यवहार सबै क्षेत्रमा देखिनुपर्ने बताउनुभयो ।
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिक दलहरूको स्वार्थ र गुटबन्दीका कारण राष्ट्रिय सरोकारका मुद्दाहरूमा संसद्मा गम्भीर र गहन छलफल हुन नसके पनि संविधान कार्यान्वयनको दिशामा महत्त्वपूर्ण कामहरू भएको बताउनुभयो । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले दलहरू राजनीतिक मुद्दामा मात्रै केन्द्रित हुँदा जनजीविकाको सवाललाई संसद्ले उचित सम्बोधन गर्न नसकेकाले नयाँ संसद्ले ती विषयलाई उचित सम्बोधन गर्नुपर्ने बताउनुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकार गठनका लागि गठबन्धन गर्ने विषयले दलहरूलाई सामाजिक रूपान्तरणमा ध्यान दिन समय नदिएको हो की भन्ने आफूलाई महसुस भएको बताउनुभयो ।
प्रतिनिधिसभाको आजको अन्तिम बैठकलाई सम्बोधन गर्नुहुँदै सभामुख अग्निप्रसाद सापकोटाले संसद्को यस अवधिमा विभिन्न राजनीतिक उतार चढाव आएको भएपनि दलहरूको सहमतिका कारण प्रतिनिधिसभाले आफ्नो पाँच वर्षे कार्यकाल पुरा गर्न सफल भएको बताउनुभयो । सभामुख सापकोटाले संसद्ले संविधान अनुसार सुनिश्चित गर्नुपर्ने विभिन्न हक अधिकारको सुनिश्चितताका लागि कानून निर्माण त्यसको कार्यान्वयन सँगै देशको आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेलेको विभिन्न देशबाट भएका उच्चस्तरीय भ्रमणले मित्र राष्ट्रहरूसँग सम्बन्धन प्रगाढ बनाउन मद्दत पुगेको लगायतका विषयहरू सम्बोधनका क्रममा उल्लेख गर्नुभयो । प्रतिनिधिसभाको कार्यकाल आज राती १२ः०० बजेपछि समाप्त हुँदै छ ।