फाइल तस्बिर

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गरेको खर्चका विषयमा दिएको अभिव्यक्तिमाथि थप विवरण माग गरेर स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । केही दिनअघि अध्यक्ष प्रचण्डले गाउँपालिका अध्यक्ष जित्न उम्मेदवारहरुले १० करोडसम्म खर्च गरेको रिपोर्ट आएको अभिव्यक्ति दिएका थिए । आयोगले प्रचण्डको सोही अभिव्यक्तिलाई स्पष्ट पार्न आग्रह गरेर पत्र लेखेको एक अधिकारीले जानकारी दिए । आयोगका ती अधिकारीका अनुसार, त्यसरी अभिव्यक्ति दिनुको आधार के हो र कुन गाउँपालिकाका अध्यक्षले रकम खर्चेका हुन्, विवरण उपलब्ध गराइदिन अनुरोध गरी पत्राचार भएको हो ।
प्रचण्डले के भनेका थिए ?
प्रचण्डले ९ साउनमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको नवौं स्मृति दिवसको कार्यक्रममा गाउँपालिकाको चुनावमा १० करोडसम्म खर्च गरेको रिपोर्ट आएको बताएका थिए । उनको भनाइको अंश यस्तो छ :
साथीहरुले थोरै रिपोर्ट सुनाउनुभएको छ । गाउँपालिकाको चुनावमा १० करोड खर्च गरेर जितेको देखियो ठाउँ ठाउँमा । १० करोड बाफरे ! एउटा गाउँपालिकाको चुनावमा १० करोड खर्च गर्ने भनेपछि प्रदेश र संघको चुनावमा त उनीहरुले ५० औं करोड खर्च गर्ने भए अरबतिर जाने भयो । भनेपछि श्रमजीवि जनताले, क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने भनेको त सपनाजस्तो हुने भयो । आउने को भए दलाल पुँजीपति, नोकरसाह पुँजीपतिहरु आउने भए, भ्रष्टहरु आउने भए । त्यो खतरा दिन प्रतिदिन बढ्दो छ ।