हेटाैंडा – पुनरुत्थानशिलता तथा जीविकोपार्जन नतिजा विश्लेषण सम्बन्धी प्रदेश स्तरिय अन्तरक्रिया गोष्ठी आईतबार हेटौंडामा सम्पन्न भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोग र राष्ट्रिय योजना आयोगको आयोजनामा संयुुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमको सहकार्यमा कार्यक्रम भएको हो ।

बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले खाद्य सुरक्षा, समुदायको जीविाकोपार्जन तथा उत्थानशीलतामा जलवायु परिर्वतनको प्रभावका बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले खाद्य सुरक्षा, पोषणमा सुधार र दिगो कृषि प्रर्वदन जस्ता दिगो विकासका लक्ष्यहरू हासिल गर्न स्थानीय तहको सक्रियता आवश्यक रहेको बताउनुभयो । उहाँले आइपर्ने विपतको सामना गर्न र आफ्नो पालीकाको उत्पादन वृद्धिमा स्थानीय तहले नीति निर्माण गर्दा विशेष ध्यान दिन जरुरी रहेको समेत बताउनुभयो । उहाँले जलवायु परिर्वतन र यसबाट पर्न सक्ने असरका बारेमा तल्लो तहका नगरिकमा जनचेतना अभिबृद्धि गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष पन्तले जलवायु परिवर्तन विश्वव्यापी चुनौतीको विषय भएको बताउँदै जलवायु परिर्वनको असर न्यूनिकरण गर्न तीनै तहको सरकारले भूमिका खेल्नु पर्ने बताउनुभयो । नेपाललाई दिगो विकासको लक्ष्य हासिल गराउन भोकमरी अन्त्य गराउन आवश्यक रहेको बताउँदै पन्तले जलवायु परिवर्तनले उत्पादनमा ल्याएको कमीलाई हटाउन आआफ्नो क्षेत्रबाट भूमिका खेल्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले जलवायु परिवर्तनको असर र जीविकोपार्जनमा ल्याएको समस्याका विषयमा नागरिकलाई जानकारी गराउन भुमिका खेल्ने बताउँदै नागरिकले बुझ्ने गरि तथ्याङकहरु आउनु पर्ने बताउनुभयो । उहाँले अझै गहन र मसिनो ढंगबाट यसको अध्यन गर्नुपर्ने र कार्यान्वयनमा लानु पर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रलाद लामिछानेले अहिलेको कृषि प्रणालीमा सुधार गरेर जीविको पार्जनमा जोड दिनुपर्ने बताउनुभयो । जलवायु परिवर्तनका कारण समस्या सृजना हुने गरेको बताउनुहुँदै उहाँले त्यसको न्युनिकरणमा सबैले समयमै सचेत हुन जरुरी रहेको धारणा राख्नुभयो । कार्यक्रममा राष्ट्रिय किशान महासंघकी केन्द्रिय महासचिव रिता वास्ताकोटीले बास्तविक किशानसम्म अझै पनि सरकार पुग्न नसकेको भन्दै यसमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा खाद्य सुरक्षा, समुदायको जीविकोपार्जन तथा उत्थानशिलतामा जलवायु परिवर्तनको प्रभाव तथा प्रयासहरुको बारेमा डाक्टर श्रीधर थापाले प्रस्तुतीकरण गर्नु भएको थियो । भने विश्व खाद्य कार्यक्रमका डाक्टर राजु क्षेत्री र डाक्टर श्रीधर थापाले अध्ययन नतिजाको साझेदारी, टिप्पणी र प्रतिक्रियाहरूका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रम बहुक्षेत्रीय पोषण कार्यक्रमका बागमती प्रदेश संयोजक पुरुषोत्तम अर्यालले सञ्चालन गर्नु भएको थियो ।











