मकवानपुर – उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले हेटौंडा–१४, स्थित निर्माणाधिन मयुरधाप औद्योगिक क्षेत्रको काम छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । बिहीबार औद्योगिक क्षेत्रको स्थलगत निरिक्षण गर्नुहुँदै मन्त्री बडूले समयमै काम सम्पन्न गरेर उद्योग स्थापनाको वतावरण सृजना गर्न निर्देशन दिनुभयो ।
मन्त्री बडूले उद्योग स्थापना गर्न सरकार हरेक हिसाबले सहयोग गर्न तयार रहेको हुँदा औद्योगिक क्षेत्रको काम छिटो सम्पन्न गरेर उद्योग स्थापनाको वातावरण सृजना गर्न निर्देशन दिनुभयो । उद्योगको विकास र रोजगारी वृद्धिका लागि औद्योगिक क्षेत्रको काम छिटो सम्पन्न गर्नुपर्ने उहाँको भनाई थियो । सरकारले राष्ट्रिय उत्पादन बढाउनका लागि भएका उद्योगहरु सञ्चालन गर्ने र नयाँ उद्योग खोल्ने साथै नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्ने योजना बनाएको समेत उहाँले बताउनुभयो । उहाँले मुलुकको आर्थिक अवस्था सुधार गर्न, व्यापार घाटा कम गर्न, आयात प्रतिस्थापन गर्नको लागि बन्द उद्योग सञ्चालनमा ल्याउनुपर्ने साथै नयाँ उद्योग स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
नेपाल सरकारले २०७२ चैत १ गते १९९ बिगाहा १७ कट्ठा सरकारी जग्गा मयुरधाप औद्योगिक क्षेत्रको नाममा दर्ता गरी लालपूर्जा हस्तान्तरण गरेर औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको हो । हेटौँडा–१३ र १४ स्थित मयुरधाप औद्योगिक क्षेत्रभित्र २०७५ कात्तिक ५ गतेदेखि परियोजना कार्यालय स्थापना गरेर २०७७ फागुन १४ गते शिलान्यास भएको उक्त औद्योगिक क्षेत्रमा दुई वर्षभित्र भौतिक पूर्वाधार विकासको निर्माण गर्ने र नयाँ–नयाँ उद्योगहरु स्थापना गर्ने लक्ष्य लिईएको थियो । तर, वन क्षेत्र परेकाले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत नहुँदा पूर्वाधार निर्माणको काम सुरु हुन सकेको छैन् । औद्योगिक क्षेत्रमा हालसम्म प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) स्वीकृत भएर विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण, प्लट छुट्याउने, तथा तारबार गर्ने काम सम्पन्न भएको छ ।