आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हिजो आइतवार र आज सोमवार मनोनयन दर्ता भएको छ । हिजो धेरैजसो साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएकाले निर्वाचन अधिकृतको कार्यालयमा कम चाप रहेकोमा आज दिनभर भिडभाड रहेको छ । देशभरका ११ वटा उपमहानगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेले उम्मेदवारी दिएका हुन् ।
इटहरी उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एकीकृत समाजवादीका केशव विष्टले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै एमालेबाट मेयरमा यमकुमार सुब्बा र उपमेयरमा संगीता चौधरीले मनोनयन दर्ता गराउनुभएको छ ।
धरान उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका किशोर राई र उपमेयरमा नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै एमालेको तर्फबाट मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदमप्रसाद लिम्बुले मनोनयन दर्ता गराउनुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरमा जनता समाजवादी पार्टीका लालकिशोर साहले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै नेकपा एमालेबाट मेयरमा शिवशंकर साह र उपमेयरमा रूना झाले उम्मेदवारी दर्ता गराउनुभएको छ । झा आजै एमालेमा प्रवेश गर्नुभएको हो ।
हेटौँडा उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरमा नेकपा एकीकृत समाजवादीको मीनाकुमारी लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै नेकपा एमालेबाट मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले मनोनयन दर्ता गराउनुभएको छ ।
कलैया उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरमा काँग्रेसका राजेश राय र उपमेयरमा जनता समाजवादी पार्टीका प्रमोद गुप्ताले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै एमालेको तर्फबाट मेयरमा विनोद शाह र उपमेयरमा रोशन प्रवीणको उम्मेदवारी परेको छ ।
जितपुर सिमरा उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरमा एकीकृत नेकपा माओवादीका राजन पौडेल र उपमेयरमा नेपाली कांग्रेसकी मेघा साहीले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै एमालेको तर्फबाट मेयरमा सरस्वती चौधरी र उपमेयरमा भोला अधिकारीले मनोनयन दर्ता गराउनुभएको छ ।
बुटवल उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा नेकपा एसका चिनबहादुर गुरुङले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै एमालेबाट मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्यालले मनोनयन दर्ता गराउनुभएको छ । सत्तारुढ गठबन्धनमा रहेको जसपाले पनि बुटवलमा मेयर तथा उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ ।
घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरमा माओवादी केन्द्रका हेमराज शर्मा (डायमण्ड) र उपमेयरमा कांग्रेसका भूपबहादुर डाँगीले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै एमालेको तर्फबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीले मनोनयन दर्ता गराउनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै एमालेको तर्फबाट मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरीको उम्मेदवारी परेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दिन राईले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै एमालेको तर्फबाट मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकालले मनोनयन दर्ता गराउनुभएको छ ।
धनगढी उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका नृपबहादुर वड र उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले मनोनयन दर्ता गराउनुभएको छ । धनगढीमा नेकपा एमालेबाट मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानाथारुले मनोनयन दर्ता गराउनुभएको छ ।











