काठमाण्डाै – निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको जनाएकाे छ । सोमबारको नियमित पत्रकार सम्मेलनमार्फत
४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छापिसकेकाे जनाएकाे हाे ।
नियमित पत्रकार सम्मेलनमा आयाेगका प्रवक्ता पाैडेलले १ करोड ९४ लाख थान मतपत्र मध्ये सोमबारसम्म ४६ जिल्लाका लागि आवश्यक ९५ लाख २५ हजार मत्रपत्र छपाइ सकिएको बताउनुभयो । यसैबीच निर्वाचन आयोगले भाेलि मङ्गलवार (वैशाख ६ गते) राष्ट्रिय सञ्चारमाध्यमका चुनावसम्बन्धी रिर्पोटिङ गर्ने समाचारदाता र फोटो पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएको छ । यसअघि आयोगले प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
त्यसैगरी आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइन बोर्ड, लेटर प्याड र छापको नमुना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पनि पत्राचार गरेको छ । साइन बोर्ड, लेटर प्याड र छाप सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा एकरूपता ल्याउनका लागि ती सबैकाे नमुना पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो । यस्तै आयाेगले स्थानीय तह निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने समाचार र सूचनाको आधारमा विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेस गर्न पत्राचार गरेको छ ।