हेटौंडा – नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरको आयोजनामा जिल्ला स्तरीय बृहत विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आसन्न स्थानिय निर्वाचनलाई लक्षित गर्दै अनेरास्ववियु मकवानपुरले विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरेको हो ।

जिल्लाको भीमफेदी, मनहरी, मकवानपुरगढी गाउँपालिका तथा हेटौंडाकै विभिन्न क्याम्पसहरुबाट हजारौंको संख्यामा सहभागी भएका विद्यार्थीहरुको बृहत ¥यालीसहित हेटौंडा बजार परिक्रमा गर्दै शक्ति प्रदर्शन गरेको थियो । हेटौंडा–४ स्थित क्लब हेटौंडामा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन आ–आफ्नो क्षेत्रबाट सक्रिय रुपमा लागि पर्न निर्देशन दिइएको छ । अनेरास्ववियुले आगामी निर्वाचनकै लागि जिल्लाभर विद्यार्थीहरुबाट १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरिएको छ ।

‘मेरो वडा म जिताउँछु, हाम्रो पालिका हामी जिताउँछौं ।’ भन्ने नारासहित अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको घोषणा गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले अनेरास्ववियु र नेकपा एमालेको चुनाव चिन्ह सूर्य अंकित झण्डा अनेरास्ववियु मकवानपुर अध्यक्ष पौडेललाई प्रदान गर्नुहुँदै निर्वाचन परिचालन कमिटीको उद्धाटन गर्नुभएको थियो ।











