मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाह्य आवागमन रोक्दै उत्पादन र निर्माण कार्य सुचारु गर्नुपर्ने बताउनुभएको छ । शनिबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले बाह्य आवागमनलाई रोकेर आन्तरिक रुपमा आर्थिक क्रियाकलापहरु सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।
कोभिड–१९ को जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच उत्पादन र निर्माणलाई रोक्न नहुने भन्दै मुख्यमन्त्री पौडेलले जिल्ला, स्थानीय तह वा उपत्यकाका नाकाहरु बन्द गरेर बाह्य आवागमन रोक्दै, आर्थिक क्रियाकलापहरु सञ्चालन गर्नुपर्ने बताउनुभएको हो । “आवागामन रोकौं, उत्पादन र निर्माण सूचारु गरौं” भन्ने अवधारणाका साथ अगाडि बढ्नु नै आजको आवश्यकता भएको बताउँदै मुख्यमन्त्री पौडेलले निश्चित सिमाहरु सिल गरेर आन्तरिक क्रियाकलापहरु सञ्चालन गर्दा जनजीवन सरल हुनुका साथै रोकिएको आर्थिक क्रियाकलापहरु सूचारु हुनसक्ने कुरा सन्देशमा उल्लेख गर्नुभएको छ ।
देशमा कोरोना भाइरसले माहामारीको रुप लिन नसक्नुको मुख्यकारण लकडाउन नै भएकाले माहामारीबाट जोगिन लकडाउनको विकल्प नभएको समेत उहाँले उल्लेख गर्नुभएको छ । तर, लकडाउनलाई परिमार्जन गर्नभने आवश्यक देखिएको उहाँको भनाई रहेको छ । “खेतीपातीको मौसम भएकोले खनजोत, मलखादको ओसारपोसार, बालीनाली लगाउने, थन्काउने लगायत कृषिकार्यका लागि उचित व्यवस्था गर्नुपर्ने साथै विकास निर्माणका हिसाबले समेत अहिलेको मौसमलाई महत्वपूर्ण मानिने हुँदा सम्बन्धित कार्य स्थललाई नै क्वारेन्टाइन मानेर मजदुरहरु थपघट नगर्नेगरी विकास निर्माणको कामलाई निरन्तरता दिनु उचित हुने भन्दै निश्चित सिमाहरु सिल गरेर आन्तरिक क्रियाकलापहरु सञ्चालन गर्दा जनजीवन सरल हुनुका साथै रोकिएको आर्थिक क्रियाकलापहरु समेत सूचारु हुनसक्छ” उहाँले भन्नुभएको छ ।
मुख्यमन्त्री पौडेलले लकडाउन खुकुलो बनेको वा पुरै हटेको अवस्थामा पनि हामीले सावधानी भने अपनाउन आवश्यक रहेको भन्दै संक्रमण फैलन मद्धत पुर्याउने खालका हाम्रा दैनिकीहरु, आनीबानी तथा विज्ञहरुले सुझाएका भन्दा बाहेकका क्रियाकलापहरु भने पूर्णरुपमा रोकेर आफू र आफ्नाहरुलाई माहामारीबाट जोगाउन भूमिका निर्वाह गर्नु हरेक नागरिकको कर्तव्य हुने समेत सन्देशमा उल्लेख गर्नुभएको छ ।