हेटौंडा – नेपालमा आज थप १ हजार ८ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ५ सय ३५ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार २ सय ३७ जना तथा ३ हजार ६ सय ८३ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ५ सय ९४ जना गरी जम्मा १ हजार ८ सय ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलेका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ३ सय ९१ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा भक्तपुरमा ३१, ललितपुरमा ९७ र काठमाडौँमा २ सय ६३ जना रहेका छन् । देशभरबाट गएको २४ घण्टामा १ हजार ५ सय ३३ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएको प्रवक्ता डा पौडेलले बताउनुभयो । देशभरि आज कोरोना सङ्क्रमणबाट २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ३ सय ८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभरि २६ हजार १ सय ७३ जना कोरोना सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् । जसमा २३ हजार ४ सय ७१ जना होम आइसोलेसनमा र २ हजार ७ सय २ जनाले संस्थागत आइसोलेसनमा रहेर उपचार गराइरहेको मन्त्रालयका प्रवक्ता डा। पौडेलले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको बत्ताउनुहुँदै प्रवक्ता डा। पौडेलले अहिले पनि ५ जनाको परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।