हेटौंडाः ३ नम्बर प्रदेश सरकारले प्रदेश प्रेस रजिष्ट्रारको शाखा कार्यालय काठमाडौंमा खोल्ने तयारी गरिएको छ । हेटौंडामा मुख्य कार्यालय र काठमाडौंमा शाखा कार्यालय खोल्ने सरकारले तयारी गरेको हो ।
काठमाडौ उपत्यका र आसपासका जिल्लाका रेडियो, टेलिभिजन, अनलाईन र पत्रिकाको काम गर्न सहज होस भन्ने उद्देश्यकासाथ शाखा कार्यालय काठमाडौंमा पनि खोल्न लागिएको प्रदेश ३ का प्रेस रजिष्ट्रार रेवती सापकोटाले जानकारी दिनुभयो । काठमाडौंमा सेवा कार्यालय स्थापना गर्न लागिएको भन्दै उहाँले प्रशासनिक काम भने हेटौंडाबाटै हुने बताउनुभएको छ । पत्रपत्रिकाको अभिलेख र प्रेस पास भने दुवै कार्यालयबाट उपलब्ध गराउने व्यवस्था गरिने उहाँले स्पष्ट पार्नुभयो । शाखा कार्यालयको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यही साउन १६ गते उद्घाटन् गर्ने कार्यक्रम रहेको समेत उहाँले जानकारी दिनुभएको छ ।
रेडियो, टेलिभिजन, अनलाईन र पत्रिकाको इजाजत, नवीकरण, नियमनका कामहरु गर्न ३ नम्बर प्रदेश सरकारले गत चैत्र २७ गतेको मन्त्री परिषद् बैठकबाट निर्णय गरेर प्रेस रजिष्ट्रारको नियुक्ति गरेर काम अगाडि बढाएको हो । तर, हेटौंडामै कार्यालय तथा कर्मचारीको व्यवस्थापन गर्न नसकेको प्रदेश सरकारले अर्को शाखा कार्यालय खोल्ने तयारी गरेको छ । प्रेस रजिष्ट्रारसहित १० जना कर्मचारीको व्यवस्था रहेकोमा हालसम्म ४ जनामात्र उपलब्ध गराएको छ । रजिष्ट्रारसहित अहिले हेटौंडा कार्यालयमा अधिकृत एकजान र सुब्बा २ जनामात्र रहेको सापकोटाले बताउनुभएको छ । कार्यालयमा रजिष्ट्रारसहित उपसचिव एकजान, अधिकृत एकजना, नायब सुब्बा २ जना, लेखापाल, कम्प्युटर अपरेटर, ईलेक्ट्रिकल ईन्जिनियर (टेलिकम सेवाको) एक÷एक जना र कार्यालय सहयोगी २ जनाको दरबन्दी रहेकोमा हाल ४ जनामात्र रहेको उहाँले बताउनुभयो । टेलिकम सेवाको ईलेक्ट्रिकल ईन्जिनियर नहुँदा काम अगाडि बढाउन समस्या भएको उहाँको भनाइ छ । ईलेक्ट्रिकल ईन्जिनियर तत्काल आवश्यक रहेको भन्दै उहाँले प्रदेश सरकारले उपलब्ध नगराए करारमा नियुक्त गरेर काम अगाडि बढाउने योजना रहेको समेत उहाँले बताउनुभयो ।