बाँकेमा आज थप १ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । पछिल्लो पटक आज बाँके जिल्लाको नरैनापुरका २५ वर्षीय पुरूषको कोरोना भाईरसका कारण निधन भएपछि मृतकको संख्या २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मन्त्रालयको नियमित प्रेस व्रिफिङ्का क्रममा जानकारी दिनुभयो ।
यस अगाडि हिजो सिन्धुपाल्चोककी २९ वर्षिय महिलाको कोरोनाका कारण मृत्यु भएको थियो । मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हाल संक्रमण पुष्टि भएका हरू मध्ये ३६ जना उपचार पछि निको भई घर फर्किएका छन भने बाँकी संक्रमितहरुको विभिन्न अस्पतालहरूमा उपचार भईरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हाल सम्म नेपालमा २ सय ३६ जना पुरूष र ५५ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हाल सम्म २८ हजार १ सय ६० जनाको पिसिआर प्रविधिबाट र ६७ हजार ७ सय ६९ जनाको आर डि टि विधिबाट परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६९जनाको पिसिआर र २ हजार २० जनाको आर डि टि विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, देशका विभिन्न स्थानमा १८ हजार ३ सय ५७ जना क्वारेन्टाईनमा र ३ सय ४६ जना आईसोलेसनमा रहेका छन् । काठमाडौ उपत्यका भित्रका अस्पतालहरूमा ३५ जना र बाँकी देशका विभिन्न स्थानमा रहेका अस्पताहरूमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
यसैगरी कोरोना भाईरसका बारेमा जानकारी दिन मन्त्रालयले सञ्चालन गरेको निःशुल्क कल सेन्टरहरू ११३३ र १११५ मा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५० जनाले सम्पर्क गरी आवश्यक जानकारी लिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भारतले ३० हजार थान पिसिआर किट उपलब्ध गराएको छ ।
यसैबीच आजदेखी निजी क्षेत्रका अस्पतालहरूले समेत कोरोनाको आर डि टि परीक्षण गर्न पाउने भएका छन् ।मन्त्रालयले आर डि टि परीक्षण निर्देशिका जारी गरेपछि निजी क्षेत्रका अस्पतालहरूले आरडिटि परीक्षणको बाटो खुलेको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस ब्रिफिङ्का क्रममा दिनुभएको जानकारी अनुसार परीक्षण गर्न चाहाने अस्पतालले उपत्यका भित्रको हकमा स्वास्थ्य सेवा विभाग र उपत्यका बाहिरका अस्पतालहरूले सम्वन्धित प्रदेशको स्वास्थ्य निर्देशनालयबाट अनुमति लिन सक्ने छन् । नियमअनुसार स्वीकृति लिने अस्पतालहरूले हालका लागि अस्पताल प्रयोजनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु बाट सूचीकृत आर डि टी परीक्षण मात्र गर्न पाउने प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।