काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका क्रियाकलाप सत्तापक्षलाई फाइदा पुग्ने ढङ्गले अघि बढेको आरोप लगाउनुभएको छ । महाराजगन्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्युमा सुरु भएको बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले मतपत्रको रङ बदल्ने, उम्मेदवारी मनोनयन दुई दिन गर्ने, एमालेले निष्कासन गरेका व्यक्तिलाई मान्यता दिएर पार्टी दर्ता गर्ने जस्ता क्रियाकलाप एमालेका लागि स्वीकार्य विषय नभएको बताउनुभयो ।
उहाँले आयोगको भूमिका सत्ता गठबन्धनलाई सहयोग पुग्ने गरी आएको भन्दै यसले निष्पक्ष निर्वाचनमा आशङ्का पैदा भएको आरोप लगाउनुभयो । एमाले स्थायी कमिटी बैठक मुख्यतः निर्वाचन केन्द्रित ठोस कार्य योजना बनाएर पार्टीलाई निर्वाचनमा परिचालन गर्ने योजना तय गर्नका लागि डाकिएको छ । केन्द्रीय कमिटी बैठकले पारित गरेका विषयवस्तुका आधारमा स्थानीय तह निर्वाचन केन्द्रित विषयवस्तुमा छलफल गरी निर्वाचन केन्द्रित ठोस कार्य योजना तय गर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । ४५ सदस्यीय स्थायी कमिटीमा चार जना पदेन सदस्य रहने व्यवस्था छ ।










