जिल्ला प्रशासन कार्यालय, पर्साले कोरोना संक्रमित व्यक्ति भागे प्रहरीले गोली चलाउने निर्णय संसाेधन गरेकाे छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा शुक्रबार बिहान बसेको संकट व्यवस्था समिति बैठकले  कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने निर्णय गरेकाे थियाे । प्रशासनकाे निर्णयकाे मानव अधिकारवादी संस्थाबाट विरोध भएपछि संशोधन गरिएको हो ।

‘एकैपटक गोली चलाउने भन्दा सर्वसाधारणमा अर्को अर्थ लाग्यो, त्यसैले हामीले स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्ने भनेका छौं ।’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भन्नुभयाे । स्रोतका अनुसार पर्सा प्रशासनको निर्णयलाई लिएर मानवअधिकारकर्मीहरुले पनि आपत्ति जनाएका थिए । त्यसैले प्रशासनले निर्णय सच्याएको हो । पर्साका एक अधिकारीले भने, ‘जे भए पनि हामीले यो जनताकै लागि गरेको निर्णय थियो ।’ संशोधित निर्णय अनुसार आवश्यकता अनुसार बल प्रयोग गर्ने मात्र भनिएको छ । बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएका थिए । त्यसपछि प्रशासनले गोली चलाउने निर्णय गरेको थियो ।

अनलाइनखबरकाे सहयाेगमा