काठमाडौँ — कुवेत र सिंगापुरले शुक्रबार जित हात पारेपछि विश्व ट्वान्टी–२० एसिया छनोटबाट ग्लोबल छनोटमा पुग्ने समीकरण सबै नेपालको हातमा आएको छ । कमजोर मानिएको कतारसँग पहिलो खेलमा ४ विकेटले पराजित भएपछि सिंगापुरमा भइरहेको विश्व ट्वान्टी–२० एसिया छनोटमा नेपालको स्थिति अप्ठ्यारो बनेको थियो । अर्को खेलमा नेपालले मलेसियालाई पराजित गरे पनि रनरेटमा भर पर्नुपर्ने स्थिति आउन सक्थ्यो । तर इन्डियन एसोसिएसन मैदानमा कुवेतले कतारलाई १० रन र सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेपछि नेपालले बाँकी दुई खेलमा जित हात पारे प्रतियोगिता जित्ने निश्चित भएको हो ।
छनोट प्रतियोगिता विजेता राष्ट्र अक्टोबर–नोभेम्बरमा यूएईमा हुने विश्व ट्वान्टी–२० ग्लोबल छनोटमा पुग्ने प्रावधान छ । दुई खेलमा २ अंक जोडेर नेपाल तेस्रो स्थानमा छ । सिंगापुर ३ खेलमा ५ र कुवेत ३ खेलमा ३ अंकसहित सुरुका दुई स्थानमा छन् । मलेसिया र कतारले ३–३ खेलमा २–२ अंक जोडेका छन् । मलेसिया र कतार उपाधि दौडबाट बाहिरिइसकेका छन् । नेपालले कुवेत र सिंगापुरसँग खेल्न बाँकी छ, जुन एक हिसाबले नेपालका लागि सेमिफाइनल र फाइनलजस्तै हो ।
पहिला ब्याटिङ गरेको कुवेतले एडनान इद्रिजको ५६ रनमा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ९७ रन बनायो । इद्रिजले ३२ बल खेली ८ चौका र २ छक्का प्रहार गरे । कप्तान तमुर साजादले ३२ बलमा ३ चौका र २ छक्का प्रहार गरी अविजित ४६ रन बनाए पनि कतारले ५ विकेट गुमाई १ सय ८७ रनमात्र बनाउन सक्यो । सिंगापुरले छिमेकी मलेसियाको चुनौती सहजै पन्छायो । टस जितेर ब्याटिङ रोजेको मलेसिया १८.४ ओभरमा ९२ रनमै अलआउट भयो । अमजाद महबुब र अनन्थ कृष्णले ३–३ विकेट लिए । सुरेन्द्रन चन्द्रमोहनले ४२ बलमा ५० रन बनाएपछि सिंगापुरले १३.२ ओभरमै लक्ष्य पूरा गर्यो ।
नेपालकोशनिबारकुवेतसँग
नेपालले शनिबार कुवेतसँग खेल्दै छ । कतारमाथि शुक्रबार जित हात पार्नुअघि कुवेत पहिलो खेलमा मलेसियासँग ४१ रनले पराजित भएको थियो । मलेसियाले बनाएको १ सय ८६ रनको जवाफमा कुवेतले ९ विकेट गुमाई १ सय ५३ रनमात्र बनाउन सकेको थियो । सिंगापुरसँग कुवेतको दोस्रो खेल भने वर्षाले पूरै प्रभावित पारेपछि रद्द हुन पुगेको थियो । नेपाल भने कतारसँग पहिलो खेलमा स्तब्ध हुँदा १ सय २२ रनमात्र बनाउन सकेको थियो । मलेसियासँग नेपालको खेल वर्षाले प्रभावित र्ययो । त्यसमा मलेसियालाई ९ ओभरमा ८३–७ मा रोकेको नेपालले सो लक्ष्य ज्ञानेन्द्र मल्लको आक्रामक ब्याटिङसँगै ८ ओभरमै पूरा गरेको थियो । ज्ञानेन्द्रले २० बलमै ५० रन पूरा गरेर नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका थिए ।
विगतमा नेपाल र कुवेतबीचको खेल पहिलो दुई खेल निकै प्रतिस्पर्धात्मक रहेको छ । सन् २००९ मा यूएईमा यी दुई टोलीबीचको खेलको निर्णय ‘बल आउट’ मा भएको थियो । पहिला ब्याटिङ गरेको कुवेत १९.१ ओभरमा १ सय २३ रनमा अलआउट भयो । नेपाल निश्चित हार नजिक पुगिसकेको थियो । ‘डेब्यू’ गरिरहेका विनोद भण्डारीले अन्तिम बलमा छक्का प्रहार गरी स्कोर बराबरीमा ल्याए र बल आउटमा नेपाल ३–२ ले विजयी भयो । सन् २०११ मा पनि खेल अन्तिमसम्म रोमाञ्चक बन्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एसीसी ट्वान्टी–२० कपको खेलमा नेपालले ६ विकेट गुमाई १ सय २६ रन बनायो । अन्तिम ओभर बलिङ गरेका पृथु बाँस्कोटाले लेगसाइडमा गएको बलमा अन्तिम ब्याट्सम्यानलाई स्टम्पआउट गराई कुवेतलाई १९.५ ओभरमा १ सय २५ रनमा अलआउट गरेपछि नेपाल १ रनले विजयी भयो । २०१४ को इन्चोन एसियाली खेलकुदमा भने कुवेतलाई २० रनमा अलआउट गरी नेपालले ९ विकेटको सहज जित हात पारेको थियो । कुवेतपछि नेपालले अन्तिम खेल आइतबार सिंगापुरसँग खेल्नेछ ।