मकवानपुर– कम तौलको चामल बिक्री गरेको भन्दै मकवानपुरको एक खाद्यान्न सेन्टरलाई साढे दुईलाख जरीवाना गरिएको छ । कम तौल भएको चामल बिक्री गरेको र अनुगमन टोलीकै अगाडी प्रमाण नष्ट गर्ने प्रयास गरेको भन्दै घरेलु तथा साना उद्योग कार्यालयले हेटौंडाको मणि खाद्यान्न सेन्टरलाई साढे दुईलाख जरीवाना गरेको हो ।
कार्यालयबाट संयुक्त बजार अनुगमन गर्दा मणि खाद्यान्न सेन्टरको गोदाममा रहेको शील प्याक चामल दोहोर्याएर सिलाई गरेको र तौल पनि घटी भएको पाइएको थियो । अनुगमन टोलीले मुचुल्का लेख्न व्यस्त भएको मौका छोपी झुक्याउँदै सञ्चालक काव्यमणि अधिकारीले प्रमाण नष्ट गर्न तौल घटी भएका चामलको शील ब्लेडले काट्दा काट्दै अनुगमन टोलीले फेला पारेको थियो । सञ्चालकले प्रमाण नष्ट गरेको समेत फेला पारेपछि सो स्टोरको चामल गोदाममा अनुगमन टोलीले शील लगाएर कारबाही अगाडी बढाएकाे थियो । अनुगमनकै क्रममा उक्त गोदाममा म्याद गुज्रिएका मुसुरोको दाल समेत फेला परेको हुनाले उक्त खाद्यान्न सेन्टरलाई प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६ को दफा ६१ को घ २ बमोजिम जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दहालले जानकारी दिनुभएकाे छ ।