हेटाैंडा– कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्ने भन्नेबारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ । सरकारलाई आवश्यक सुझाव दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक बसेकाे र समितिले दिने सुझाव अनुसार निर्णय लिन भोलिका लागि मन्त्रिपरिषदको बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए । सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पटक पटक लकडाउनको समय थप्दै आएकोमा वैशाख १५ गते यसको अवधि समाप्त हुँदैछ । उच्चस्तरीय समितिले अहिलेको परिस्थितिको विश्लेषण गरेर लकडाउनको विषयमा सरकारलाई आवश्यक सुझाव दिनेछ ।