हेटाैंडा– कोराना भाइरस (कोभिड १९) महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारीका मजदुरका लागि प्रदेश २ सरकारले दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले लक्षित परिवारको घरमा सोझै राहत पुर्याउने गरी दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको हो ।
पहिलो चरणमा प्रदेश सरकारले पालिकामार्फत राहत वितरणको कार्यक्रम ल्याए पनि कतिपय पालिकाले राहत वितरण गर्न नसकेको जनगुनासोलाई ध्यानमा राखी प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पुर्याउने योजना ल्याएको छ । पालिकाले सरकारलाई बुझाएको पीडित परिवारको सूचीका आधारमा प्रदेश सरकारले जिल्लामा रहेको घरेलु तथा साना उद्योग कार्यालयमार्फत राहत सामग्री खरिद गरी प्याकेट तयार गरेरै सूचीसहित वडालाई जिम्मा लगाउने र वडाले प्याकेट प्राप्त गरेको २४ घण्टाभित्र सम्बन्धित परिवारको जिम्मा लगाउने प्रावधान राखिएको छ ।
त्यसैगरी मन्त्रिपरिषद्को बैठकले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक उपकरणहरू खरिद गर्न ६८ करोड रुपैयाँ निकासा गरेको छ । यो रकमले थप पीसीआर मेसिनसहितका अन्य उपकरणहरू खरिद गरिने जनाइएको छ । मन्त्रिपरिषद्ले नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना बिरामीको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रुपैयाँ दिने निर्णयसमेत गरेको छ ।