मकवानपुर– बागमती प्रदेश सरकारले किशानलाई आवश्यक पर्ने मल तथा बिउबिजन उपलब्ध गराउने भएको छ । बुधबार प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स मार्फत कुराकानी गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको अवधिमा किसानहरुलाई चाहिने मल, बिउबिजनलगायतका कृषि सामग्री उपलब्ध गराउने बताउनुभएको हो ।

कोरोना विरुद्ध मापदण्ड अनुसार दुरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने समेत मुख्यमन्त्री पौडेलले बताउनुभएकाे छ । माहामारी नियन्त्रणका लागि सरकारले आब्हान गरेको लकडाउनका कारण उत्पादन कार्य गर्न समस्या भए सहजीकरण गर्न स्थानिय तहलाई मुख्यमन्त्री पौडेलले आग्रह गर्नुभयो । स्थानीय सरकारसंग भएको पैसा पनि सरकारकै पैसा भएको भन्दै उहाँले अहिलेको आवश्यक्ता अनुसार खर्च गर्न स्थानीय तहका प्रमुहरुलाई आग्रह गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले बुधबार चितवनको भरतपुर महानगरपालिकाका प्रमुख र माडी नगरपालिका प्रमुख, सिन्धुलीको कमलामाई नगरपालिका र मरिण र सुनकोशी गाउँपालिका, रसुवाको गोसाईकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चाकको भोटेकोशी गाउँपालिकाका प्रमुखहरुसंग भिडियो कन्फेरेन्स मार्फत कुराकानी गर्नुभएको हो ।
त्यस्तै भिडियो कन्फ्रेन्स मार्फत कुराकानी गर्दै मुख्यमन्त्री पौडेलले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा राख्न आग्रह गर्नुभएको छ । लकडाउनको अवधि लम्बिने अवस्था आए त्यसको सामना गर्न पूर्वतयारी आवश्यक भएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले तयारकिा लागि केन्द्र वा प्रदेश सरकारको छुट्टै बजेटको प्रतिक्षा गर्नु नपर्ने समेत बताउनुभएको छ । उहाँले लकडाउनका कारण अप्ठ्यारोमा परेका परिवारलाई राहत वितरण गर्ने काममा अनावश्यक प्रतिस्पर्धा देखिएको भन्दै त्यसले विकृति निम्त्याउन सक्ने तर्फ सचेत हुन समेत अनुरोध गर्नुभयो ।
कोरोनाको माहामारी फैलन नदिन लकडाउन बाहेक कुनैपनि विकल्प नभएकोले भावनामा बगेर यस बाहेको अन्य विकल्प खोज्न तिर लाग्नु नहुने भएकोले कोरोनालाई नेपालमा माहामारीको रुपमा आउन नदिन निर्मम भएर लकडाउनको कार्यान्वयन गरिनुपर्ने उहाँको भनाई थियो । पौडेलले मंगलबार मकवानपुरको मनहरी गाउँपालिकाका प्रमुख , चितवनको रत्ननगर नगरपालिका प्रमुख, सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाका प्रमुख , धादिङको धुनीवेशी नगरपालिकाका प्रमुख र दोलखाको भिमेश्वर नगरपालिका प्रमुखसंग पनि भिडियो कुराकानी गर्नुभएको थियो ।