काठमाडौं :- भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमा नाकाको निगरानी झनै कडा बनाएको छ । सशस्त्र प्रहरीले सीमा नाकामा स्थायी रूपमा १ सय २० बीओपी सञ्चालनमा रहेकामा भारततर्फ संक्रमण बढ्दै जाँदा थप ८ सय ५ अस्थायी चेक पोस्ट खडा गरी निगरानी कडा बनाएको हो । त्यसका लागि सीमा जोडिएका जिल्लामा थप २ हजार २ सय ८० जनशक्ति थपिएको छ ।
खुला सिमानाका कारण भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि सशस्त्र प्रहरीले अस्थायी चेक पोस्टमा केन्द्रबाटै जनशक्ति पठाएको हो । सशस्त्र प्रहरीका डीआईजी एवं प्रवक्ता प्रवीणकुमार श्रेष्ठले सीमा नाका बन्द रहेको अवस्थामा नाकाबाट गरिने प्रवेश रोक्न थप जनशक्ति पठाएर अस्थायी चेक पोस्ट स्थापना गरिएको बताए ।
‘सीमा नाकामा सुरक्षा चुस्तताका लागि थप ८ सय ५ अस्थायी चेक पोस्ट सञ्चालनमा ल्याइएको छ । हाल स्थायी र अस्थायी राजधानीसँग भने । उनका अनुसार काठमाडौंका तालिम केन्द्र, बाहिनी तथा तालिम सकेर बसेका २ हजार २ सय ८० जनशक्तिलाई सीमा नाकामा खटाइएको हो । सबै गरी हाल भारततर्फका सीमा नाकामा मात्रै सशस्त्र प्रहरीतर्फका ५ हजार ५ सय जनशक्ति परिचालन गरिएको छ ।
सशस्त्र प्रहरीको स्थायी बीओपीमा प्रहरी निरीक्षकको कमान्डमा ३५ जना खटिँदै आएका छन् भने अस्थायी चेक पोस्टहरु सई, असई तथा वरिष्ठ हवलदारहरुको कमान्डमा राखिएको छ । सशस्त्र प्रहरीतर्फबाट देशभर गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि २९ हजार ५ सय जनशक्ति खटाइएको डीआईजी श्रेष्ठले जानकारी दिए ।
सरकारले भारततर्फका उच्च सरकारी अधिकारीसँगको छलफलपछि दुई देशका सीमा क्षेत्रमा आएर रोकिएकाहरुलाई सम्बन्धित देशको सरकारकै व्यवस्थापनमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिसकेको बताउँदै आएको छ ।
सरकारले खुला सीमा नै मुख्य जोखिम भएकाले दुवै देशका नागरिक जहाँको सीमामा रोकिएको भए पनि सम्बन्धित देशको सरकारकै व्यवस्थापनमा रहने गरी व्यवस्थापन गरिएको दाबी गर्दै आएको छ । नेपालको भारततर्फ १ हजार ८ सय ८० किलोमिटर सीमा जोडिएको छ । सरकारी तथ्यांकअनुसार भारत तर्फको सीमामा आएर २ हजार नेपाली रोकिएका छन् भने नेपालतर्फ ७ सय भारतीय रोकिएका छन् । आजको राजधानी दैनिकमा खवर छ ।