मकवानपुर– मकवानपुरमा लकडाउनलाइ प्रभावकारी बनाउदै स्वाब परिक्षणको दायरा बढाउनु पर्ने निर्णय भएको छ । सोमबार जिल्ला समन्वय समितिमा बसेको स्थानीय तह समन्वय बैठकले सरकारले जारी गरेको लकडाउनलाई प्रभावकारी बनाउदै शंकास्पदहरूकाे स्वाब परिक्षणलाई व्यापक बनाउने निणर्य गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले हेटौंडामै दैनिक ७५ जना सम्मको स्वाब परिक्षण गर्न सकिने व्यवस्था भएकाले जिल्लामा बाहिरबाट आएका तथा कोरोना सम्बन्धी लक्षण देखिएका व्यक्तिहरुको स्वाब परिक्षणलाई व्यापक बनाउनु पर्ने निर्णय गरेको हो । बैठकले बाहिरबाट आएकाको निगरानीलाई बढाउने तथा स्वाब परिक्षणकालागि बिरामीको स्वाब संकलनको व्यवस्थापन स्थानीय तहहरुले समन्वय गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बाहिरबाट आएका व्यक्तिको निगरानी संगै उनिहरुको तथ्याङ्क समेत राख्ने निर्णय भएको प्रमुख खुलालले बताउनुभयो ।
बैठकमा मकवानपुरका स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले आ–आफ्नो पालिकामा अहिलेको अवस्था तथा आगामी योजनाको विषयमा जानकारी गराउनुभएको थियो । स्थानीय तहहरुले सचेतनाका कार्यक्रम, राहत वितरणको व्यवस्थापन, स्वास्थ्य जाँचलगायतका कार्यक्रम गरेको जानकारी गराउनुभएको थियो । बैठकमा जिसस प्रमुख खुलालले यस्तो अवस्थामा संयमता र सावधानी अपनाउन स्थानीय तहहरुलाई आग्रह गर्नुभयो । उहाँले सुरक्षित हुनु नै महामारीबाट बच्ने उपर्युक्त विकल्प भएकाले यस कुरामा बिशेष ध्यान दिन आग्रह गर्नुभएको थियो । साथै स्थानीयतहमा राहत वितरणलाई एकद्धार प्रणली मार्फत लानु पर्ने तथा कारोनाबाट प्रभावितले मात्र राहत पाउन भन्ने विषयमा स्थानीय तहले विशेष ध्यान दिएर काम गर्ने निणय भएको उहाँले बताउनुभयो ।
साथै बैठकमा प्रदेश सरकार मार्फत उद्योग परिसंघद्धारा प्रप्त भएको राहत वितरणका विषयमा प्रमुख खुलालले जानकारी गराउनुभएको थियो । उद्योग परिसंघ नेपाल बागमती प्रदेश समितिले बागमती प्रदेश सरकारलाई उपलब्ध गराएको १ हजार प्याकेट राहत सामग्री बागमती प्रदेश सरकारले जिल्ला समन्वय समिति प्रदेश महासंघलाई उपलब्ध गराएको थियो । उद्योग परिसंघ प्रदेश समितिले प्रदान गरेको राहत सामग्री प्रदेशका जिल्लाहरुसंग समन्वय गरेर बितरण गरिने तथा बाँकी रहेको राहत सामग्री मकवानपुरका स्थानीय तहहरुलाई हस्तान्तरण गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै बैठकमा स्थानीय तहहरुमा निर्माण भएका क्वारेन्टाईन र आइसोलेसन वार्ड व्यवस्थित बनाउने बिषयमा छलफल भएको प्रमुख खुलालले बताउनुभयो । बैठकमा सहभागि प्रमुख÷उपप्रमुखहरुले माहामारी फैलीहालेमा अहिले निर्माण भएका क्वारेन्टाईन र आइसोलेसन वार्ड व्यवस्थित समेत नभएको र पर्याप्त समेत नभएकाले हेटौंडा अस्पताललाई नै आईसोलेशन अस्पताल बनाउनु पर्ने बताएको प्रमुख खुलालले बताउनुभयो । यस विषयमा प्रदेश सरकार र संघीय सरकार समेतलाई अनुरोध गर्ने निर्णय भएको उहाँले बताउनुभएको छ । त्यस्तै बैठकले कोरोनाको महामारकिा बेला खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उत्साहित गर्ने र हौसला प्रदान गर्ने काम स्थानीय तहले गर्ने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो । बैठकमा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, कैलाश गाएँपालिका अध्यक्ष टंक मोक्तान, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, निमित्त जिल्ला समन्वय अधिकारी भीमलाल महर्जनलगायतको सहभागिता थियो ।