मकवानपुर – जिल्लाकाे थाहा नगरपालिका, भिमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाका स्वास्थ्यकर्मीले नागरिकको घरघरमै पुगेर ज्वरो जाँच (परीक्षण) गरिरहेकाे छ । ज्वरो, रुघाखोकीका बिरामी आउनेबित्तिकै हेटौंडाका निजी अस्पतालका स्वास्थ्यकर्मी डराइरहेको समयमा तीन वटा स्थानीय तहका स्वास्थ्यकर्मी घरङरमै पुगेर बिरामी जाँच गरिरहेका छन् ।
आवासीय सुविधा दिएर २४ घण्टा स्वास्थ्यकर्मी परिचालित गरेको जिल्लाकाे मनहरी गाउँपालिकाले घरघरै पुगेर ज्वरो जाँच गर्ने कार्य सुरु गरेको छ । लकडाउनका कारण गाडी नचलेपछि घरघरै पुगेर ज्वरो जाँच तथा परामर्श दिन थालिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । उहाँका अनुसार मनहरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरसहितको स्वास्थ्य जाँच टोली विभिन्न वडाहरुमा पुगिरहेका छन् । वडामा पुगेको स्वास्थ्य जाँच टोलीले विदेशबाट फर्केकाहरुलाई होम क्वरेण्टीनमा बस्न आग्रह र आवश्यक परामर्श दिइरहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै थाहा नगरपालिकाले पनि आफ्ना वडामा रहेका स्वास्थ्यकर्मीलाई गाउँगाउँमा परिचालन गरिएको मेयर लवशेर विष्टले वताउनुभयो । यसैगरी भिमफेदी गाउँपालिकाका स्वास्थ्यकर्मीहरु पनि कोरोनाको संक्रमण गाउँमा नफैलियोस भनेर गाउँगाउँमा गएका छन् । गाउँपालिकाले भीडभाड हुने ९ वटै वडाका चोक चौतारा तथा सडक आसपासका क्षेत्रमा किटनाशक औषधीसमेत छरेको छ । गाउँपालिकाले कोरोना सङ्क्रमणविरुद्ध परिचालनका लागि २५ देखि ५० प्रतिशत अतिरिक्त भत्ता तथा आवासीय सुविधा दिएर १५ जना स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयाे ।