मकवानपुर– मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले (कोभिड–१९) कोरोना भाईरस नियन्त्रण तथा रोकथाममा सक्रियता देखाएको छ । वडा कार्यालयले आईतबार वडाका जनप्रतिनिधिहरु, नागरिक अगुवाहरु, सम्पुर्ण टोलविकास संस्थाका अध्यक्षहरु लगायतसंग कोरोनाले वडामा पारेको प्रभाव तथा लकडाउन प्रभाबकारी बनाउने सन्र्दभमा छलफल गरेको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालसमेतको उपस्थितीमा वडाको अहिलेको अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका विषयमा समेत छलफल भएको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले बताउनुभयो । छलफलमा प्रमुख खुलालले कोरोना भाईरसको प्रकोपबाट बच्ने एउटै उपाय सामाजिक दुरी भएकोले त्यसमा ध्यान दिन आग्रह गर्नुभयो । साथै उहाँले कोरोना भाइरसको सक्रमण फैलन नदिने लक्ष्यका साथ सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबैको सहयोग हुनुपर्ने बताउनुभएको छ ।
सबै टोल विकास संस्थाका अध्यक्ष, नागरिक अगुवा, जनप्रतिनिधिलगायतको उपस्थिती हुँदा भिड बढ्ने हुनाले वडाका २४ वटा टोल विकास संस्थाका अध्यक्षहरुसंग एकै दिन दुई चरणमा छलफल गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । छलफलमा विदेशबाट आउने ब्यक्तिहरुको पुर्ण बिबरण संकलन, दैनिक ज्यालादारी, मजदुरी गर्नेलाई राहत प्रदान गर्ने, दैनिक उपभोग्य अत्यावश्यक खाद्यान्न व्यवस्थापनका विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
व्डाको कुश्माण्ड, त्रिवेणी, ,शान्ति, संम्वेदशनशिल, सृजना, प्रगती, सन्तोषी, धर्मपथ, आदर्श, गणेश हनुमान, जनकल्याण र सेती टोल बिकास संस्थाका अध्यक्षहरुसंग पहिलो चरणमा तथा धाप, दिब्यपथ, लामसुरे हाइट, प्रगतिशिल, खाद्यसंस्थान, श्रीलंका, माल्दिप्स, मदन, स्वागत, पशुपती, ओम र मिलन टोलबिकास संस्थाका अध्यक्षहरुसंग दोस्रो चरणमा छलफल भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
छलफलमा चैत्र १ गते पछाडी वडामा बाहिर बाट आएर बस्ने २२ जना रहेको र उनिहरु होम क्वारेन्टाईन्मा रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । त्यस्तै अति आवश्यक दैनीक उपभोग्य सामग्री वडा भित्रका ६ वटा पसलमा खरिद गर्न सकिने व्यवस्था भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै वडाका सम्पुर्ण टोल विकास संस्थाका अध्यक्षहरुलाई वडामा बाहिरबाट आउनेको निगरानी गर्नुका साथै त्यसको जानकारी वडा कार्यालयमा गराउन निर्देशन दिईउको अध्यक्ष भण्डारीले बताउनुभयो ।