मकवानपुर–मकवानपुर जिल्लामा भारतलगाययत तेस्रो मुलुकबाट आएका व्यक्तिको लगत संकलन कार्य सुरु गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा प्रतिकार्यको कामलाई थप तिव्रता दिन बिहीबार गठन भएको कमाण्ड पोष्टले जिल्लाका स्थानीय तहहरुसंगको समन्वयमा बाहिरबाट गाउँमा आएकाका व्यक्तिहरु तथा ती व्यक्तिहरुको हालको स्वास्थ्य अवस्थालगायतको तथ्याङक संकलन सुरु गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरको समन्वयमा जिल्लमा तथ्यांक संकलनको कार्य भइरहेको छ । शुक्रबार संकलित तथ्याङ्क अनुसार जिल्लाका १० वटै पालिकामा भारत लगायत तेस्रो मुलकुक तथा गाउँमा बाहिरबाट आएका २५३ जना रहेका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम रहने आशंकामा गाउँ बाहिरबाट गाउँमा आएका २ सय ५३ जनालाई उच्च निगरानीमा राखिएको छ ।
शुक्रबार साँझसम्ममा मकवानपुर जिल्लाका दस वटै स्थानीय तहको छुट्टाछुट्टै तथ्यांक संकलन गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरका अधिकृत भीमलाल महर्जनका अनुसार विदेशबाट आएका सबै स्थानीय तहको स्वास्थ्य संयोजक तथा स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा रहेका छन् । मकवानपुर जिल्लामा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा १ सय २२ जनाको तथ्यांक पाइएको अधिकृत महर्जनले बताउनुभयो । स्थानीय जनप्रतिनिधि र स्थानीय सर्वसाधारणको सूचनाका आधारमा विदेशबाट आएका जिल्लावासीको तथ्यांक संकलनको कार्य भइरहेको छ ।
मनहरी गाउँपालिकामा ४२ जना, थाहा नगरपालिकामा ३६ जना, इन्द्रसरोवर गाउँपालिकामा १६ जना, भीमफेदी गाउँपालिकामा १२ जना, बागमती गाउँपालिकामा ११ जना, मकवानपुरगढी र कैलाश गाउँपालिकामा ५÷५ जना, बकैया गाउँपालिकामा ३ जना र राक्सिराङ गाउँपालिकामा १ जना विदेशबाट आएका नागरिकको पहिचान भएको छ । २०७६/१२/१४ गतेकाे तथ्यांक