मकवानपुर, २८ चैत । बागमती प्रदेशको राजधानी हेटौंडामा पत्रकारहरूकालागि एक दिवसीय वित्तीय साक्षरता प्रवद्र्धन सम्बन्धी अनुशिक्षण कार्यक्रम भएको छ । आर्थिक पत्रकारिताको माध्यमबाट समाजमा वित्तीय चेतना फैलाउन र नागरिकलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंक, वीरगंज कार्यालयको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बैंकका निर्देशक सुशील पौडेलले वित्तीय साक्षरता र आर्थिक समावेशीताका विषयमा जानकारी दिनुभएको थियो । उहाँले वित्तीय साक्षरतालाई केवल अंकको ज्ञान मात्र नभई व्यवहारमा परिवर्तन ल्याउने प्रक्रिया भएको बताउनुभयो । सामाजिक रूपान्तरणका लागि वित्तीय समावेशीता अनिवार्य रहेको र यसका लागि वित्तीय सेवा प्रदायक, वित्तीय साधनको पहुँच, प्रयोग र गुणस्तरमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बैंकका सहायक निर्दैशक बिनय केसरीले डिजिटल बैंकिङ्ग र सुरक्षाका वियायमा जानकारी दिनुहुँदै आधुनिक समयमा भुक्तानीका डिजिटल माध्यमहरू मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कार्ड र वालेटको सही प्रयोगबारे जानकारी दिनुभयो । साथै, उहाँले नेपालमा दैनिक ५४ वटा अनलाईन ठगीका घटना हुने गरेको भन्दै वित्तीय अपराध, ठगी र भ्रमबाट बच्न वित्तीय अनुशासन र सूचनाको संस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले यसका लागि पत्रकारको महत्वपूर्ण भुमिका हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूको अधिकार, सूचनाको पहुँच, गोपनियता, र गुनासो सुनुवाईका संयन्त्रबारे जानकारी दिईएको थियो । भने, वित्तीय योजना बनाउँदा आम्दानी, खर्च, बचत र लगानीको सन्तुलन मिलाउन सके मात्र सुरक्षित भविष्य सुनिश्चित हुने तर्फ जोड दिइएको थियो । कार्यक्रममा मकवानपुरसहित, बारा, पर्सा, रौतहट र चितवनका गरि ५० भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।











