मकवानपुर– बागती प्रदेश सरकारले मकवानपुरकाे हेटाैंडा–१५ स्थित चुरीयामाइमा अवस्थित एसियाकै पुरानो सुरुङ्गमार्गको पुननिर्माण गर्ने भएको छ । वर्तमान सन्दर्भमा व्यवसासयिक प्रयोगका लागि उपयुक्त नभएपनि ऐतिहासिक सम्पदाको संरक्षण गर्न तथा पर्यटन प्रवद्र्धनका लागि सुरुङ्गमार्गको जिर्णोद्धार गरेर पुनसञ्चालनमा ल्याउने योजना अगाडि सारिएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो । तत्कालिन समयमा एसियाका विशाल र शक्तिसाली भनिएका देशहरुले बनाउन नसकेको सुरुङ्गमार्ग नेपाली प्राविधिक र कमदारहरु समेत नेपाली नै प्रयोग गरेर निर्माण हुनु आफैमा गौरवपूर्ण ऐतिहासिकता भएको उहाँको भनाई छ । त्यो इतिहासको प्रचार प्रसार गर्नु तथा पर्यटन प्रवद्र्धन गर्नु एवं विकासका परम्परागत प्रविधिहरुको बारेमा अध्ययन गर्ने स्थलको रुपमा विकास गरेर विगतमा के कस्ता सामाग्रीहरुको प्रयोग कसरी गरिदो रहेछ भन्ने जानकारी वर्तमान पुस्ता र भावी पुस्तालाई समेत गराउने उद्देश्य सहित व्यवस्थित र सुरक्षित तवरले पुननिर्माण गरिने उहाँको भनाई छ । प्रदेश दुईसंग समेत सहकार्य गरेर सुरुङ्गमार्गलाई आकर्षक हिसाबले पुननिर्माण गरिने प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल बताउनु हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको देशलाई पर्यटनमय बनाउने योजना तथा मुख्यमन्त्री डोरमणि पौडेलको परिकल्पनामा काम भइरहेको बताउदै मन्त्री फुयाँलले बैशाखदेखि काम शुरु गरिने जानकारी दिनुभयो । मन्त्री फुयाँलले नेपालकै पहिलो सुरुङ्गमार्गको संरक्षण र सम्वद्र्धन आवश्यक रहेको उल्लेख गर्नुभयो । चुरियामाई मन्दिर र सुरुङ्गमार्ग प्रवेश गर्ने स्थानमा आकर्षक प्रवेश द्वार निर्माण गरिने उहाँले बताउनुभयो । पुरातत्व विभाग संग समन्वय गरेर काम गरिने उहाँको भनाई थियो ।
इतिहास– “हाम्रा राजा क्या अक्कलधारी ल्याए मोटर चुरेलाई भ्वाङ्ग पारी” बि.सं. १९७३ सालमा पाँचौ राणा प्रधानमन्त्री चन्द्र समशेरको पालामा बाराको अमलेखगञ्जबाट मकवानपुरको हेटौंडा छिचोल्न सुरुङ्ग खनिएपछि मकवानपुरका स्थानीयले यस्तो गित बनाएका थिए । उक्त गित बुढापाकाहरु हिजोआज समेत गुन्गुनाउछन् । आफ्नो २८ वर्षे साशनकालमा चन्द्र समशेरले थुप्रै विकास निर्माणका काम गरेका थिए । त्यो काम मध्येको महत्वपूर्ण काम थियो अमलेखगञ्ज देखि भीमफेदी सम्मको मोटरबाटो । सोही खण्डमा पर्ने बारा र मकवानपुर जोड्ने विशाल चुरे पहाडलाई प्वाल पारेर द्रुतमार्ग(सुरुङ्ग) बनाइएको थियो । त्यस समय भारतबाट बाराको अमलेखगञ्ज सम्म रेल आउथ्यो भने अमलेखगञ्जदेखि मकवानपुरको भीमफेदी सम्म मोटर बाटो पुगेको थियो । भीमफेदीबाट काठमाण्डौं जाने मोटरबाटो नभएपनि सानागाडीहरु बोकाएरै काठमाण्डौं पु¥याइन्थ्यो । अमलेखगञ्ज भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरेमा भने मोटर उक्लन निक्कै गाह्रो थियो ठाडो उकालो भएको कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको समेत खर्चबढी हुने भएपछि सरकारले विकल्पमा त्यहाँ सुरुङ्ग खनेको थियो । आजभन्दा १०३ वर्ष अघि बनेको त्यो सुरुङ्ग नेपालको पहिलो त थियो नै त्यतिखेर एसियामै सुरुङ्गमार्ग नभएको त्यही समय नेपाल आएका भूगोल शास्त्रि टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन् । उनले आफ्नो पुस्तकमा यस सुरुङ्गलाई विश्वको आठौं आश्चर्यको रुपमा उल्लेख गरेकाछन् । स्वीस्टसजरल्याण्डबाट नेपालको खानीहरु लगायतको भूगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका टोनी हेगनले आफ्नो पुस्तक “दी हिमालयन किंडम अफ नेपाल” मा यो सुरुङ्गमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् । नेपालको पहिलो इन्जिनियर डिल्लीजङ्ग थापाले डिजाइन र निर्माण गराएको यो सुरुङ्गमार्ग नजिकै चर्चित शक्तिपिठ चुरियामाईको मन्दिर छ । इन्जिनियर थापाले सुरुङ्ग खन्न थालेपछि उनलाई सपनामा देवीले म बसेको ठाउँमा बाटो खनिस त्यसको सट्टमा एउटा मन्दिर बनाएर मलाई स्थापना गर भनेका कारण थापाले मन्दिर बनाएको किम्वदन्ती पाइन्छ । चुरिया सुरुङ, हेटौंडा—काठमाडौं रोपवे, धरहरा , शीतल निवास र घण्टाघरको पुननिर्माण, नेपालको प्रथम रेलवे जनकपुर–जयनगर रेलवे निर्माण आदि महत्वपूर्ण निर्माणहरु गरेका इन्जिनियर थापाले विदेशबाट महङ्गा उपकरणहरु झिकाएर चुरेको पहाड काटेर फाल्नु भन्दा नेपाली श्रमिकहरु र नेपाली उत्पादनहरुकै प्रयोग गरेर सुरुङ्ग निर्माण गर्नु उपयुक्त र सस्तो समेत हुने ठानेर सुरुङ्ग निर्माण गरेको बताइन्छ । ९ फिट चौंडाई र १० फिट उचाई भएको यो सुरुङ्गको लम्बाई भने ६ सय मिटरको रहेको थियो हाल एकापट्टीको भाग भत्किएर बरिब १०० मिटर जति पुरिएको जनाइएको छ । त्रिभुवन राजपथको सञ्चालनपछि बि.सं.२०१८ सालदेखि सुरुङ्गमार्गको प्रयोग हुन छोडेको स्थानीय अग्रज बताउछन् । २०१३ सालमा आफू ललितपुरबाट भारत जाँदा बाइरोडको बाटो हुँदै चुरियाको सुरुङ्गमार्ग छिरेर गएको सम्झनु हुन्छ मकवानपुरगढी गाउँपालिकाका ८३ वर्षीया भीम प्रसाद घिमिरे । घिमिरेका अनुसार बाइरोडको विस्तार पछि सुरुङ्गमार्गको प्रयोग नभएपनि ४५ साल सम्म पैदल आउजाउ गर्न मिल्नेगरी दुबैतर्फ प्वाल थियो । ४५ सालको भुकम्पपछि भने एकतर्फको प्वाल टालियो । त्यपछि भने गोठालाहरुको ओतलाग्ने ठाउँको रुपमा र चुरियामाईको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुको डुलघुम गर्ने स्थानको रुपमा मात्र रहेको सुरुङमार्गलाई २०७२ सालको भूकम्पले थप क्षतिग्रस्त बनायो । त्यसपछि पुरातत्व विभागले सुरुङको ऐतिहासिकता परीक्षण गरेर त्यहाँ छिर्न तथा अवलोकन गर्न निषेध गरेको छ । प्रदेश सरकार गठन भएपछि भने यो सुरुङ्गमार्गले चर्चा पाउन थालेको छ । यसको जिर्णोद्धार गर्न भन्दै प्राविधिकहरुबाट पटक पटक निरीक्षण भएर अध्ययन थालिएको जनाइएको छ । हेटौँडा उपमहानगरपालिकाले पनि सुरुङको प्रवेशद्वार नजिकै सुरुङ्गमार्गका डिजाइनर इन्जिनियर थापाको शालिक निर्माण गर्ने भएको छ । सुरुङ्गको मुखै नजिक थापाको अर्धकदको शालिक बनाउने काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ । ऐतिहासिक सुरुङ्गमार्गको विकास र संरक्षणमा उपमहानगर लाग्ने उपमहानगरपालिकाका अधिकृत रामकृष्ण थापाले जानकारी दिनुभयाे ।