फाइल तस्विर

मकवानपुर– केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा यही फागुन १४ देखि १७ गतेसम्म हेटौंडामा आयोजना हुने नगरस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि सहयोग प्राप्त भएको छ । नगरस्तरीय भलिबल आयोजनाका लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र स्वर्ण भण्डारले सहयोग गर्ने भएको हो ।
बुधबारदेखि सुरु हुने भलिबल प्रतियोगिताका लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले आमा टीकादेवी जोशीको स्मृतिमा महिलातर्फ प्रथम र द्वितीय स्थानको पुरस्कार रकम बराबर ८० हजार रुपैयाँ सहयोग गर्ने सम्झौता भएको केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरले जनाएको छ । यस्तै स्वर्ण भण्डारका सञ्चालक ज्योतिरत्न बज्राचार्यले पुषतर्फ द्वितीय पुरस्कार स्वरुप ३० हजार रुपैयाँ सहयोग गर्ने सम्झौता भएको छ । प्रतियोगितामा नगरका १९ वटा वडाबाट महिला र पुरुष टिम सहभागी हुन सक्ने बताइएको छ । मंगलबारसम्ममा सहभागी हुने टिम निश्चित हुने प्रतियोगिताका संयोजक सन्तोष श्रेष्ठले जानकारी दिनुभएको छ । प्रतियोगिता हेटौंडाको हुप्रचौरमा आयोजना हुनेछ । प्रतियोगिता आयोजनाका लागि हेटौंडा उपमहानगरपालिकाले प्रमुख सहयोग गर्दैछ ।