मकवानपुर, १५ माघ । नेकपा (एमाले) बाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बर्तौला यतिबेला गाउँ–गाउँमा पुगेर मतदाताको भावना बुझ्ने अभियानमा व्यस्त हुनुहुन्छ । बिहीबार मनहरी गाउँपालिकाका विभिन्न बस्ती—घट्टेदमार, भुन्द्रुङ, टाँडी, पर्ता र चकरीमा पुग्दा स्थानीय मतदाताले उहाँलाई उत्साहजनक समर्थन जनाएका छन् ।
स्थानीयसँगको भेटघाटमा चुनावी नारा मात्र होइन, बर्तौलाको अघिल्लो कार्यकालमा गरेका कामको मूल्याङ्कनसमेत भएको थियो । अन्तरक्रियाका क्रममा मनहरी–३ का रामभक्त अधिकारीले अहिलेका मतदाता सजिलै बहकाउमा नपर्ने बताउनुभयो । उहाँका अनुसार, “मान्छे अहिले धेरै शिक्षित भइसकेका छन्। कसले कति काम गर्यो भन्ने सबैले हेरेका छन्। तपाईंको कार्यकालको समीक्षा भइरहेको छ र राम्रो काम गर्नेलाई जनताले अन्याय गर्दैनन्।”

त्यस्तै, २६ वर्षीय युवा इन्द्रदेव वाइबाले बर्तौलाको बौद्धिकता, अनुभव र शैक्षिक योग्यताको प्रशंसा गर्दै उहाँ संसदका लागि योग्य प्रतिनिधि भएको धारणा राख्नुभयो । मनहरी–१ का विशाल लामाले बर्तौलालाई अन्य नेताभन्दा फरक रूपमा चित्रण गर्दै, दुःख पर्दा भेटिन सक्ने नेता भएको बताए। उहाँले बफर जोन र भूमिहीन नागरिकका पक्षमा संसदमा उठाइएका आवाजको स्मरण गर्दै आगामी दिनमा पनि पीडित समुदायका पक्षमा निरन्तर बोलिरहन आग्रह गर्नुभयो ।
भेटघाटका क्रममा स्थानीयले वन संरक्षणका कारण भोग्नुपरेका चुनौती तथा त्यसबाट सिर्जना हुन सक्ने पर्यटकीय सम्भावनाका विषयमा समेत छलफल गरेका छन् । वन क्षेत्रका कारण जीविकोपार्जनमा परेको समस्यालाई समाधान गर्दै पर्यटन र कृषि—विशेषगरी गाई–भैंसी पालनसँग जोडेर विकास गर्नुपर्ने माग स्थानीयको छ ।
हाडीखोला र मनहरी क्षेत्रका मतदातामा देखिएको उत्साहले आगामी निर्वाचनमा महेश बर्तौला बलियो उम्मेदवारका रूपमा देखिएको छ । भेटघाट कार्यक्रममा एमाले नेता राजाराम स्याङ्तान, पार्टीका मकवानपुर जिल्ला कमिटी सदस्य बीरेन्द्र डिसी, मनहरी अध्यक्ष नवीन सुवेदी, निर्वाचन फोकल पर्सन आशिष अस्लामी, विद्यार्थी नेता प्रभाष घिमिरेलगायतको उपस्थिति रहेको थियो ।









