हेटौँडा, माघ १६ । स्थानीय सीप, स्वाद र सिर्जनालाई एउटै थलोमा चिनाउने उद्देश्यसहित हेटौँडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी सुरु भएको छ । घरेलु उत्पादन प्रबर्धन गर्ने उद्देश्यसहित हेटौँडा उपमहानगरपालिका–१० नम्बर वडाले प्रदर्शनी आयोजनामा गरेकाे हाे ।
प्रदर्शनीमा उपमहानगरपालिकाका १९ वटै वडाबाट सहभागी स्टलहरूमा स्थानीय उत्पादनको विविधता झल्कने गरि ढाका, गुन्द्रुक, हस्तकला सामग्री, कृषिजन्य उत्पादनदेखि स्थानीय महिलाहरूले उत्पादन गरेका विविध सामग्रीहरू अवलोकन र खरिदका लागि राखिएका छन् ।
कार्यक्रम उद्घाटन गर्दै बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले स्थानीय उत्पादनको प्रयोग बढ्दै जानु सकारात्मक संकेत भएको बताउनुभयो । उहाँले घरेलु उत्पादनलाई पहिचान र आत्मनिर्भरताको आधार बनाउँदै गुणस्तर र बजार विस्तारमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले स्वदेशी उत्पादनले बजार नपाउने र विदेशी उत्पादनले बजार कब्जा गर्ने अवस्था चिन्ताजनक रहेको बताउनुभयो । उहाँले विचौलियाको कारण स्थानीय उत्पादन बिक्री हुन नसक्ने समस्या अन्त्य गर्न स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
स्वदेशी वस्तुको प्रयोगलाई प्रोत्साहन गर्ने स्पष्ट नीति र व्यवहार आवश्यक रहेको उहाँको भनाइ थियो ।
यसैगरी, बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले स्थानीय सीप र उद्यमशीलतालाई प्रोत्साहन गर्न प्रदेश सरकार सहकार्यका लागि तयार रहेको बताउनुभयो । उहाँले घरेलु उद्योगलाई प्रविधि र बजारसँग जोड्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले स्थानीय उत्पादनलाई बजारसँग जोड्न यस्ता प्रदर्शनी प्रभावकारी हुने बताउनुभयो । उपमहानगरले महिला, युवा र साना उद्यमीलाई उत्पादनसँग जोड्ने कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण तथा रोजगारी सिर्जनामा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा एक सय वटा घरेलु उत्पादनका स्टल रहेका छन् । प्रदर्शनी अवलोकन गर्न आएका दर्शकहरूले एउटै ठाउँमा स्थानीय उत्पादन हेर्न र किन्न पाउँदा सहज भएको प्रतिक्रिया दिएका छन् । उत्पादकहरूका अनुसार यस्ता मेलाले उत्पादनको प्रचार–प्रसारसँगै प्रत्यक्ष बिक्रीमा पनि सहयोग पुर्‍याएको छ ।प्रदर्शनी शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।