हेटौंडा, माघ ७ । मकवानपुर प्रहरीले १२१ केजी चरेससहित दुई जनालाई पक्राउ गरेकाे छ । मकवानपुरको थाहा नगरपालिका–१०, टौखेलस्थित टौखेलबाट मार्खुतर्फ जाँदै गरेको अटोबाट ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरिएको प्रहरीले जनाएकाे छ ।

लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ तथा चित्लाङबाट खटिएको संयुक्त प्रहरी टोलीले बा प्र ०३–००१ ह १५०७ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटोभित्र १२ वटा रबरका डिब्बामा लुकाइ–छिपाइ राखिएको १२१ केजी ४६ ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले अटो चालक थाहा नगरपालिका–४, रुप्से निवासी २९ वर्षीय घनश्याम बल तामाङ र कैलाश गाउँपालिका–५ निवासी २१ वर्षीय सानुकान्छा थिङलाई नियन्त्रणमा लिएको छ । बरामद लागूऔषधसहित अटो समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताउनुभयाे । पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।









