हेटौंडा, माघ ७ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हातहतियार बुझाउन सरोकार भएका सबैलाई आग्रह गरेको छ । व्यक्तिगत सुरक्षाका लागि स्थानीय प्रशासनसँग अनुमति लिएर राखिएका हतियार बुझाउन कार्यालयले सबैलाई आग्रह गरेको हो ।
कार्यालयले एक सूचना जारी गर्दै व्यक्तिगत सुरक्षाका लागि राखिएका हातहतियार १५ दिनभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माेहनराज जाेशीद्वारा जारी सूचना अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न गराउन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै इजाजत प्राप्त हतियार बुझाउन भनिएको हो । अहिले बुझाइएका हतियार आगामी चैत २० गते पश्चात् सबैलाई फिर्ता गरिने जाेशीले जानकारी दिनुभयो । तोकिएको समयमा हतियार नबुझाए, अटेर गरेमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो ।।










