मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विश्व शान्तिका अग्रदुत गौतम बुद्धले दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभएको छ । २५६५ औं बुद्धजयन्तिको अवसरमा आज शुभकामना दिनुहुँदै मुख्यमन्त्री पौडेलले विश्व शान्ती, अहिंशा र मानवताको भावना बिकास गर्न बुद्धले दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको हो ।
शुभकामना सन्देशमा मुख्यमन्त्री पौडेलले भन्नुभएको छ–“ इसापूर्व ५६३ अर्थात् आजभन्दा २५४५ वर्षअघि कपिलवस्तु जिल्लामा राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट सिद्धार्थ गौतमको जन्म भएको थियो । दरबारको सुखसयल त्यागेर मानिसको दुखको कारण खोज्न निस्किनु भएका सिद्धार्थ गौतमले बोधगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभए पश्चात् उहाँ गौतम बुद्धको नामले चिनिनुभएको हो । विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्म, ज्ञान तथा महापरिनिर्वाण प्राप्त भएको आजको दिन बैशाख शुक्ल पुर्णिमा अर्थात बुद्धजयन्तीका अवसरमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनिहरुमा सुस्वास्थ्य, सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
मुख्यमन्त्री पौडेलले कोरोना महामारिको कारण यसबर्ष खुलेर बुद्ध जयन्ति मनाउन सकिने अवस्था नरहेको भन्दै स्वास्थ्य सावधानिको उपाय अपनाउदै घर परिवारमै सिमित भैइ बुद्ध जयन्ती मनाउनु हुन समेत अनुरोध गर्नुभएको छ । साथै, सामाजिक अमनचयन, एकता, दिगो शान्ती, स्थायित्व र “समृद्व नेपाल, सुखी नेपालि“को राष्ट्रिय संकल्प पूरा गर्न बुद्ध जयन्तिले थप प्रेरित गर्ने बिश्वस समेत व्यक्त गर्नुभएको छ ।