हेटौंडा, माघ ५ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मकवानपुरका २ क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । नेकपाले मकवानपुर–१ मा माओवादी पृष्ठभूमिका विजय गौतम र मकवानपुर–२ मा लवशेर विष्टलाई उम्मेदवार बनाएको हो ।
नेकपाले मकवानपुरको दुवै क्षेत्रमा नयाँ उम्मेदवार पठाएको हो । मकवानपुर–१ का उम्मेदवार गौतम पहिलो पटक चुनावमा होमिएका हुन् । उनी नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहँदा स्वकीय सचिव थिए । विद्यार्थी राजनीति र आन्दोलनमा सक्रिय गौतम पछिल्लो समय जिल्लाको राजनीतिमा व्यस्त छन् । बकैया गाउँपालिकाका गौतम तत्कालिन माओवादी केन्द्रको केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रहेका थिए । मकवानपुर–१ मा तत्कालिन माओवादीबाट प्रेम बहादुर पुलामी उम्मेदवार रहेका थिए भने गठबन्धनका कारण २०७४ मा एमालेका कृष्ण दाहाल र २०७९ मा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’लाई सघाएको थियो । मकवानपुर–१ अन्तर्गतको बागमती र बकैया गाउँपालिकामा नेकपाको उपस्थिति राम्रो देखिन्छ भने हेटौँडा बजार क्षेत्रमा भने केही कमजोर रहेको छ ।
यता मकवानपुर–२ मा उम्मेदवार बनेका विष्ट रुपचन्द्र विष्ट ‘रुदाने’का अनुयायी हुन् । उनी २०७४ मा थाहा नगरपालिकाका प्रमुख रहेका थिए । २०७९ मा विष्ट कुनै पनि पदमा उठेका थिएनन् । नगरप्रमुख रहँदा विष्टले गरेको काम बारे जिल्लामा अझै पनि चर्चा हुने गरेको छ । विकास निर्माणसँगै सेवा प्रवाहमा उनको कार्यकालमा थाहा नगरपालिका उत्कृष्ट रहेको थियो । मकवानपुर–२ अन्तर्गत थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका लगायतका क्षेत्रमा नेकपाको उपस्थिति राम्रो रहेको छ । मनहरी, राक्सिराङ तथा मकवानपुरगढी गाउँपालिका क्षेत्रमा भने केही कमजोर रहेको छ ।