हेटाैंडा, माघ ५ । बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिनु भएकाे छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि उहाँहरूले पदबाट राजीनामा दिनु भएकाे हाे ।
प्रदेशसभा सचिवालयका अनुसार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेकपा एमालेका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल र बसन्तप्रसाद मानन्धर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनिल केसीले राजीनामा दिनु भएकाे हाे । पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहुनु भएका दोलखाका सांसद कुन्दनराज काफ्लेले हेटौँडा–१० स्थित प्रदेशसभामा उपस्थित भई उपसभामुख अप्सरा चापागाईँलाई आजै राजीनामा बुझाउनु भएको हो । अन्य सांसदहरू मास्के, श्रेष्ठ, दुलाल, मानन्धर र केसीले भने प्रदेशसभाको इमेलमार्फत राजीनामा पठाउनु भएकाे हाे । प्रदेशसभा सचिवालयले उहाँहरूको राजीनामा पत्रमाथि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।