मकवानपुर, माघ ५ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकालागि मकवानपुरका १६७ मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले ६ स्थानीय तहका ती मतदानस्थलहरुलाई अति संवेदनशील, ६० मतदानस्थललाई संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा वर्गीकरण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार अनुसार अति संवेदनशील सूचीमा रहेका १९ मतदानस्थलमा २६ मतदान केन्द्र छन् । सबैभन्दा बढी जिल्लाको बकैया गाउँपालिकामा ५ मतदानस्थलका ७ केन्द्र अति संवेदनशीलमा परेका छन् । यस्तै राक्सिराङमा ६, बागमतीमा ५, भीमफेदी, मनहरी र कैलाशमा एक–एक मतदानस्थल अति संवेदनशील सूचीमा रहेको उहाँले बताउनुभयो ।
यसैबीच मतदाता संख्या बढेकाले यस निर्वाचनमा मकवानपुरमा ९ मतदान केन्द्र थप गरी कुल ३७४ केन्द्र बनाइएका छन् । हाल जिल्लामा मतदाता संख्या ३ लाख १५ हजार ३ सय ३४ पुगेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । मकवानपुरमा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्र तथा क्षेत्र नम्बर २ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र तोकिएका छन् ।









