मकवानपुर, माघ ५ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दलगत रूपमा समय तालिका तय गरेको हो ।
भोली माघ ६ गते बिहान १० देखि ११ बजेसम्म मंगोल नेशनल अर्गनाइजेसन, ११ देखि १२ रास्वपा, १२ देखि १ एमाले, १ देखि २ राप्रपा, २ देखि ३ नेकपा, ३ देखि ४ कांग्रेस र त्यसपछि एक घण्टा उज्यालो नेपाललाई समय दिइएको छ । स्वतन्त्र उम्मेदवारले बिहान १० देखि ५ बजेसम्म कुनै पनि समयमा मनोनयन दर्ता गर्न सक्ने जनाईएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले शान्ति सुरक्षा र मतदानस्थलबारे जानकारी गराउनुभएको थियो । हेटौँडा–११ थानाभ¥याङस्थित कृषि थोक बजार भवनमा दुवै निर्वाचन क्षेत्रको कार्यालय स्थापना गरिएको छ । उम्मेदवारी दर्ताका क्रममा उम्मेदवारसहित १५ जनालाई मात्र कार्यालय परिसरमा प्रवेश गर्न दिने व्यवस्था गरिएको छ । मकवानपुर–१ मा १ लाख ५८ हजार ४३५ र मकवानपुर–२ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन् ।









