मकवानपुर,२८ पुस । बागमती प्रदेशको राजधानी हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा बोर्डको कार्यालय परिसरभित्र प्रयोगशाला स्थापना गरिएको हो ।
प्रयोगशाला स्थापनाका लागि करिब ३० लाख रुपैयाँ लागत अनुमान गरी टेन्डर आह्वान गरिएकोमा काठमाडौँस्थित जेएचएस एनालिटिक कम्पनीले २२ लाख रुपैयाँमा उपकरण आपूर्ति तथा जडानको जिम्मा लिएको थियो । कम्पनीले चार महिनाभित्र आवश्यक सबै उपकरण जडान सम्पन्न गरिसकेको जनाएको छ । प्रारम्भिक चरणमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड–२०७९ तथा सोही मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका–२०७९ अनुसार तोकिएका २८ वटै भौतिक, रासायनिक तथा सूक्ष्म जैविक परीक्षण गरिने जनाईएको छ ।
नयाँ प्रयोगशालाले पानीको गुणस्तर परीक्षणलाई वैज्ञानिक, विश्वसनीय र राष्ट्रिय मापदण्डअनुसार बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । प्रयोगशाला सञ्चालनमा आएसँगै यसको सेवा मकवानपुर जिल्लामै सीमित नरही छिमेकी जिल्लाका उपभोक्ताले पनि सहज रूपमा पानी परीक्षण सेवा लिन सक्ने बोर्डले जनाएको छ । बागमती र मधेस प्रदेशलगायत विभिन्न जिल्लाबाट आउने पानीका नमूनाहरूको समेत यहाँ परीक्षण गर्न सकिने जनाईएको छ ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अनुसार यसअघि २०७५ सालदेखि सामान्य उपकरणमार्फत पानी परीक्षण गर्दै आइएको थियो । बोर्डका लेखा प्रमुख एवम् सूचना अधिकारी सञ्जयकुमार न्यौंपानेले आधुनिक उपकरणको प्रयोगले परीक्षण नतिजा अझै विश्वसनीय र मापदण्डअनुसार हुने बताउनुभयो । नयाँ प्रयोगशाला सञ्चालनमा आएसँगै खानेपानीको गुणस्तर सुनिश्चित गर्न, उपभोक्ताको स्वास्थ्य सुरक्षा मजबुत बनाउन तथा क्षेत्रीय स्तरमै वैज्ञानिक परीक्षण सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । प्रयोगशालाको आज एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आज उद्घाटन गर्नुभयो ।