हेटौँडा, पुस २७ । हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा आयोजना गरिएको जिल्लास्तरीय महिला शिक्षक भलिबल प्रतियोगिताको उपाधि ज्ञानदीप शिक्षा (जीएस) निकेतनले हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा जीएस निकेतनले मकवानपुरगढी–८ स्थित रुपनारायण माध्यमिक विद्यालयलाई कडा प्रतिस्पर्धामा ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो ।

फाइनल खेलमा जीएस निकेतनले २५–१८, १९–२५, २५–२१, २३–२५ र १५–९ को सेटमा रुपनारायण माध्यमिक विद्यालयलाई हराएको थियो । यसअघि आजै भएको पहिलो सेमिफाइनलमा आयोजक प्रगति माध्यमिक विद्यालयलाई पराजित गर्दै रुपनारायण माध्यमिक विद्यालय फाईनलमा प्रवेश गरेको थियो । भने, हेटौंडा–९, स्थित कृष्ण आदर्श सेकेण्डरी स्कूललाई पराजित गर्दै ज्ञानदीप शिक्षा (जीएस) निकेतन फाईनल पुगेको थियो ।
विद्यालयको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा आयोजित प्रतियोगितामा जिल्लाका निजी तथा सामुदायिक गरी १९ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा हेटौँडा–९ को कृष्ण आदर्श सेकेण्डरी स्कूल तेस्रो हुँदा आयोजक प्रगति माध्यमिक विद्यालय चौथो भएको छ ।
प्रतियोगिताको विजेता जीएस निकेतनले नगद १५ हजार, उपविजेता रुपनारायण माध्यमिक विद्यालयले नगद १० हजार र तेस्रो भएको कृष्ण आदर्शले ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । यस्तै चौथो भएको आयोजक प्रगति माविले मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।











