मकवानपुर,२६ पुस । मकवानपुर जिल्लाकै उत्कृष्ट हेटौंडा–९ स्थित प्रगति माध्यामिक विद्यालयले स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती मनाउने भएको छ । शनिबार (आज) हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर विद्यालयले स्वर्ण जयन्ती महोत्सव आयोजना गर्ने जानकारी दिएको हो ।

विद्यालयले विद्यालयको स्वर्ण महोत्सव विशेष गरि माघ ६ देखि ९ गतेसम्म मनाउने भएपनि आज शनिबारबाटै अन्य विविध कार्यक्रम सुरु गरेकाे जनाएको छ । विविध शैक्षिक, साहित्यिक तथा साँस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिने कार्यक्रम अन्तरगत आज शनिबार जिल्ला स्तरिय महिला शिक्षक भलिबल सुरु भएको विद्यालय व्यवस्थापन समितीले जनाएको छ ।
विद्यालयले आयोजना गर्ने कार्यक्रमअन्तर्गत जिल्लास्तरीय शिक्षक सम्मेलन, विभिन्न प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप, विद्यार्थी सहभागितामा ¥याली, सरसफाइ कार्यक्रम, विद्यालय गान सार्वजनिकरण, शैक्षिक प्रदर्शनी, साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र मानव आश्रममा सहयोग लगायत रहेको विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले बताउनुभयो । स्वर्ण जयन्तीको अवसरमा विद्यालयले आफ्नो भौतिक तथा शैक्षिक विकास, शैक्षिक गुणस्तर अभिवृद्धि र सामुदायिक सहभागिता विस्तार गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लाछिानेले स्वर्ण जयन्तीका अवसरमा सञ्चालन हुने सबै गतिविधि उदेश्यपूर्ण रहेको उल्लेख गर्नु हुँदै शैक्षिक, सिर्जनात्मक र व्यक्तित्व विकासमा टेवा पुग्ने कार्यक्रममार्फत विद्यार्थीहरूको समग्र विकासमा योगदान पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो । कार्यक्रमलाई सफल बनाउन अभिभावक, शिक्षक, विविद्यार्थी, पूर्व विद्यार्थी तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहने अपेक्षा लिइएको उहाँले बताउनुभयो ।
कार्यक्रमको अन्तिम दिन माघ ९ गते सरस्वती पूजा, स्वर्ण जयन्ती स्तम्भ अनावरण, साँस्कृतिक कार्यक्रम, सम्मान तथा समापन कार्यक्रमसँगै स्वर्ण जयन्ती महोत्सव सम्पन्न हुने विद्यालयले जानकारी दिएको छ । सोहि दिन विद्यालयमा विद्यालयका संस्थापक प्रधानाध्यापक स्वर्गीय राधादेवी शाहको प्रतिमा अनावरण गरिनेसमेत बताईएको छ ।