हेटौंडा, ५ पुस । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको १२औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष रामहरि न्यापानेको अध्यक्षतामा साधारण सभामा भएको हो ।

कार्यक्रममा संघका अध्यक्ष न्यौपानेले आर्थिक वर्ष २०८१÷०८२ मा संघको प्रगती तथा आगामी आवको भावी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले विषम् परिस्थितिमा सहकारीले छाता संघको भूमिका अनुसार परि आएका समस्या समाधान गर्ने, पैरवी गर्ने तथा विभिन्न तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले बहुउदेश्य सहकारीहरुले आफ्नो उदेश्य अनुसार काम गर्नु पर्ने धारणासमेत राख्नुभयो । सो अवसरमा उहाँले सरोकारवालाको सुझावलाई आत्मसात् गर्दै सदस्य संख्या विस्तार गर्दै साधारण सभामा पेस भएका कार्ययोजनालाई प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा लगिने बताउनुभयो ।

कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संघका कोषध्यक्ष पुरुषेत्तम कार्कीले संघको बचत रमक २९ लाख ४१ हजार ४९७, शेयर पुँजी १ लाख ४० हजार रुपैयाँ, अन्य कोषमा १ लाख ७७ हजार ६०६, जगेडा कोष २८ हजार ९७२ रुपैयाँ, शेयर लगानी ४० हजार, स्थिर सम्पत्ति ४७ हजार ६९४ र बैंक मौजदात १० लाख ३९ हजार ४२७ रहेको बताउनुभयो । मकवानपुरमा ५० वटा बहुउद्देश्यीय सहकारी संस्थाहरु रहेका छन् । जसमध्ये ३० वटा सहकारी सकृृय रहेको र जिल्ला बहुउद्देश्यीय सहकारी संघमा २३ वटा बहुउद्देश्यीय सहकारी संस्थाहरु आबद्ध रहेका छन् ।

कार्यक्रममा सहभागिहरुले बहुउद्देश्यीय सहकारी संस्थालाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिएका छन् । सहकारी संस्थाहरु नीति र विधिअनुसार चल्नुपर्ने एवं सहकारीका सदस्यहरुले सहकारीप्रति चासो र समय दिनुपर्ने बताएका थिए । संघले साधारण सभाको अवसरमा पत्रकार विवश अधिकारीलाई सम्मान गरेको छ । सञ्चार माध्यमबाट सहकारी क्षेत्रको उन्नयनमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई सम्मान गरिएको संघकी सचिव प्रतिमा श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा संघका लेखा समिति संयोजक तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड लगनखेल शाखा प्रमुख रामेश्वर अर्याल, बागमती प्रदेश सहकारी संघका उपसमिति सदस्य बिमल घिमिरे, नारायणि बहुउदेश्य सहकारी संघका सल्लाहाकार निरञ्जन ढकाललगायतको सहभागीता थियो ।