मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरले तयार पारेको ‘जबजका आयाम’ नामक पुस्तक प्रकाशनको लागि छापाखाना पठाईएको छ । फाउन्डेसन मकवानपुरको बिहीबार आज बसेको बैठकले पुस्तकको कभर डिजाइन स्वीकृत गरी प्रकाशनका लागि छापाखान पठाउने निर्णय गरेको हो ।
बैठकले पुस्तकको बिक्री मूल्यसमेत तोकेर छपाईकोलागि छापाखान पठाउने निर्णय गरेको फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले बताउनुभयो । फाउन्डेसनले नेपालका प्रख्यात कम्युनिस्ट नेता तथा जनताको बहुदलीय जनवाद (जबज) का सिद्धान्तकार जननेता मदन भण्डारीको विचार, दर्शन र बहसलाई समेट्ने उद्देश्यका साथ पुस्तक प्रकाशन गर्न लागेको छ ।
अध्यक्ष खुलालका अनुसार जनताको बहुदलीय जनवाद (जबज) सम्बन्धी विचार, सिद्धान्त र राजनीतिक यात्रालाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित तयार गरिएको ३२४ पृष्ठको उक्त पुस्तकको सम्पादन तथा डिजाइनको काम सम्पन्न भएको बताउनुुभयो । पुस्तकमा विभिन्न व्यक्तित्वहरुको बिचार, लेख, कविताका साथै जबजको सैद्धान्तिक पृष्ठभूमि, ऐतिहासिक विकासक्रम, नेपाली राजनीतिमा यसको प्रयोग, विद्यमान चुनौती तथा भविष्यका सम्भावनाबारे गहिरो विश्लेषण समेटिएको छ । पुस्तक यसै महिना भित्र प्रकाशन गरि अनावरण गर्ने योजना रहेको समेत उहाँले बताउनुभयो । त्यस्तै आजको बैठकले सदस्यता नविकरण तथा बितरणलगायतका विषयमा समेत छलफल गरेको उहाँले बताउनुभयो । बैठकमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको समेत उपस्थिती थियो ।