नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफूहरू विदेश नभाग्ने बताउनुभएको छ । भक्तपुरको गुण्डुमा युवा सङ्घले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले नेताहरुको पासपोर्ट रोक्का गर्न लागेको भन्ने विषयमा टिप्पणी गर्दै देश छाडेर नभाग्ने बताउनुभएको हो ।

हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर आफूहरु विदेश नभाग्ने उहाँको टिप्पणी छ । उहाँले देशलाई फेरि संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउने दाबी गर्नुभयो । उहाँले सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारको कर्तव्य रहेको पनि बताउनुभयो ।

यसैबीच जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न एमालेको सचिवालय बैठक भाेलि दिउँसो १ बजे गुण्डुमा रहेकाे ओली निवासमा बस्ने भएकाे छ । बैठकमा देशको समसामयिक परिस्थिति, जेनजी आन्दोलनपछि पार्टीको अबको भूमिका, सङ्गठन सुदृढीकरण र भावी कार्यक्रमबारे निर्णय हुने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।