मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा हेटौंडा आउने हुनु भएको छ । ११२ औं वीपी जयन्तीको अवसरमा आगामी २४ भदौ गते आयोजना हुने भेलालाई सम्बोधन गर्न उहाँ हेटौंडा आउन लाग्नु भएको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ ।
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर–१ ‘ख’ ले ११२ औं वीपी जयन्तीको अवसरमा भेला आयोजना गर्न लागेको हो । पत्रकार सम्मेलनमा मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर १ ‘ख’ सभापति राजेश बानियाँले महामन्त्री थापा सँगै कांग्रेस केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ पनि कार्यक्रममा सहभागी हुने जानकारी दिनुभयो । कार्यक्रममा जिल्लाभरी बाट करिब दुई हजार कांग्रेस कार्यकर्ता र सुभेच्छुकहरुको सहभागिता रहने अनुमान गरिएको छ ।
पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाले कार्यक्रम नीतिगत नभइ सन्देशमूलक रहने जानकारी दिनुभयो । “कांग्रेस महामन्त्री थापाले विशेष भेलामा पार्टीको समसमायिक विषय, प्रधानमन्त्री ओलीको चीन भ्रमण सन्दर्भ र कार्यसम्पादन समितिको विषयमा जानकारी दिनुहुन्छ । कांग्रेस मकवानपुर जिल्ला सदस्य, कार्यकता र जनप्रतिनिधिहरुलाई पार्टीका विधि, विधान र काम कारबाहि बारे विशेष सन्देश दिने कार्यतालिका तय भएको छ ।” उहाँले भन्नुभयो ।
पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला सभापति बुद्ध लामा, कांग्रेस जिल्ला सहसचिव इन्दिरा न्यौपाने, कांग्रेस मकवानपुर क्षेत्रीय सभापति सुशान्त श्रेष्ठ, र कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।