भारतको उत्तराखण्डको उत्तरकाशीमा ‘क्लाउट बर्स्ट’ अर्थात् आरीघोप्टे वर्षापछि आएको बाढीमा परी कम्तीमा चार जनाको ज्यान गएको छ । यस्तै बाढीमा परी ५० जनाभन्दा धेरै मानिस बेपत्ता भएका र कैयौं मानिस माटो तथा भग्नावशेषमा पुरिएको अधिकारीहरूले आशङ्का गरेका छन् ।
ठूलो वर्षापछि खीरगङ्गा नदीमा आएको बाढीले धराली गाउँमा ठूलो क्षति भएको बीबीसी हिन्दीले जनाएको छ । बाढीका कारण धराली बजारका धेरै घरहरू गेग्रानमा पुरिएका छन् भने कयौं घरहरू बगेका छन् ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले राहत र उद्धारका लागि जिल्ला प्रशासनका अधिकारीहरू घटनास्थलमा खटिएका समाचार एजेन्सीलाई बताउनुभएको छ । धराली हर्सिलबाट २ किलोमिटर टाढा रहेको छ, यो एक लोकप्रिय पर्यटकीय गन्तव्य हो । यहाँ भारतीय सेनाको विशाल अड्डा पनि छ । अर्धसैनिक बल इन्डो–तिब्बती सीमा प्रहरी (आईटीबीपी) को क्याम्प पनि यस क्षेत्र नजिकै रहेको छ । यस क्षेत्रमा लगातार दुई दिनदेखि पानी परिरहेको खबरमा उल्लेख छ ।